कोहलपुरमा मालपोत र नापी कार्यालय सञ्चालनमा सेवाग्राहीलाई सहज

बाँके । गत कात्तिक १ गतेबाट मालपोत र नापी कार्यालयले कोहलपुरबाट तीनवटा पालिकामा सेवा प्रवाह सुरु भएपछि सो क्षेत्रका सेवाग्राहीलाई सेवा लिन सहज भएको छ ।
बाँकेको कोहलपुर, बैजनाथ र राप्तीसोनारीका २७ वडाका नागरिकको जग्गासम्बन्धी काम कोहलपुरबाट हुन थालेपछि नेपालगन्ज जानुपर्ने बाध्यता हटेको र सेवा लिन सहज भएको सेवाग्राहीको भनाइ छ ।
मालपोत कार्यालयमा सेवा लिन आउनुभएका कोहलपुर नगपालिका –७ का जीवन सारुले सानो कामले पनि नेपालगन्ज जानुपर्ने बाध्यताको अन्त्य भएपछि आफूहरूलाई निकै सहज भएको बताउनुभयो ।

उहाँले कोहलपुरबाटै सेवा पाएपछि पैसा, समयको बचतसँगै अनावश्यक झन्झटबाट पनि मुक्ति पाएको बताउनुभयो । सोही प्रकारले राप्तीसोनारी –४ का रमेश थापाले पनि कोहलपुरबाट सेवा सुचारु भएपछि अब कम समयमै धेरै काम र काम पनि छिटोछरितो तरिकाले भइरहेको बताउनुभयो । उहाँले यसअघि सानो कामका लागि पनि नेपालगन्ज जानुपर्दा दिनभरी लाग्ने र गाडी भाडा पनि धेरै खर्च गर्नुपरेको बताउनुभयो ।
कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका २७ वडाका नागरिकका जग्गासम्बन्धी सबै काम कोहलपुरबाटै भइरहेकाले सेवाग्राही र कर्मचारी दुबैलाई सहज भएको नापी कार्यालय कोहलपुरका अधिकृत दिनेशकुमार भण्डारीले बताउनुभयो ।
उहाँले अहिले कार्यालय स्थापना भएको केही समय मात्र भएको र जनशक्तिको अभावले गर्दा सेवा प्रवाह भनेजस्तो दिन नसके पनि सेवाग्राहीलाई धेरै सहज भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्