छायानाथले चलायो नगर बस, स्थानीयलाई सहज
मुगु । जिल्लाको एक मात्र नगरपालिका छायानाथ रारा नगरपालिकाले दुईवटा नगर बस सञ्चालनमा ल्याएको छ ।
छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले नगरपालिका भित्रका जनताहरूलाई सार्वजनिक यातायातमा सहज पहुँच पुर्याउने प्रतिबद्धता गरे अनुसार नगर बस सञ्चालनमा ल्याइएको नगर प्रमुख बिष्णु कुमार भामले बताउनुभयो ।

भौगोलिक रूपमा बिकट रहेको मुगु जिल्लामा यातायातको भरपर्दो साधन नहुँदा जनताहरूलाई नगरपालिका केन्द्रित आैषधि उपचार, सरकारी तथा गैर सरकारी कामकाजका साथै आवश्यक मालसामान किनमेलका लागि घण्टौँ हिँड्नुपर्ने बाध्यता छ । यही कुरालाई मध्यनजर गर्दै जनताको आवश्यकता र मागअनुसार सुलभ भाडा दरमा दुई वटा नगर बस सञ्चालनमा ल्याएको नगर प्रमुख भामले बताउनुभयो ।
अहिले २ वटा नगर बस नगरपालिकाले सञ्चालन गरे पनि नगरभित्रका धेरैजसो वडामा सडक साँघुरो र अव्यवस्थित भएकाले आगामी वर्षमा व्यवस्थित सडक बनाई सबै वडा बासीलाई समेट्ने गरी थप दुई वटा नगर बस थपेर ४ वटा बस सञ्चालन गरिने छ ।

नगरले सञ्चालनमा ल्याएका दुई वटा बसहरूमध्ये एउटा बस नगरपालिकाको गमगढी, रुगा, लुम हुँदै बाम सम्मका रुटमा बस चल्नेछ भने अर्को बस गमगढी हुँदै रारा विमान स्थल, टोप्ला, पिना, र राराको सल्लेरीसम्म बस चल्नेछ ।
नगर बैठकबाट नगर बसको विभिन्न बस्तीसम्मको भाडादर समेत कायम गरिएको छ । जसअनुसार गमगढीदेखि बामसम्म ३ सय, तुम गाउँ ३० रारा विमानस्थलसम्म १ सय ५०, रारा सल्लेरी २ सय ५०, पिना ३ सय, बालै १ सय रुपियाँ, कोटिला २ सय र फुलीसम्म २ सय रुपियाँ सहुलियत भाडा दर कायम गरिएको छ ।
जिल्ला सदरमुकाम गमगढीबाट आफ्ना गाउँ बस्तीसम्म नगर बस चल्ने भएपछि स्थानीय बासीहरू खुशी भएका छन् ।
सङ्घीय सांसद ऐन बहादुर शाहिले बाम गाउँमा पुगेका नगर बसहरूलाई पूजा र ब्यानर बाचन गरेर उद्घाटन गर्नुभएको थियो ।
३० सिट क्षमताका २ वटा नगर बसको खरिद मूल्य ८३ लाख परेको नगरपालिकाले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्