तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जमा भूकम्पीय सुरक्षाका लागि सचेतना अभियान

नेपालगन्ज । केही समय यता पश्चिम नेपालमा पटक-पटक भूकम्प गइरहेको छ । यो क्षेत्र भूकम्पको उच्च जोखिममा छ । यसलाई मध्यनजर गर्दै नेपालगन्जमा भूकम्प विरुद्ध सचेतना कार्यक्रम चलाइएको छ । भूकम्पीय सुरक्षाका लागि सचेतना अभियान चलिरहेको हो ।

सो क्रममा नेपालगन्ज उपमहानगरपालिकाका पुराना बजार र क्षेत्र भूकम्पको सबैभन्दा बढी जोखिममा रहेकाले ती स्थान लगायत उपमहानगरका २३ वटै वडामा भूकम्पविरुद्ध सचेतना फैलाउने अभियान सुरु गरिएको उपमहानगरले जनाएको छ ।

पश्चिम नेपालमा ठूलो भूकम्प जान सक्ने प्रक्षेपणपछि नेपालगन्जमा पूर्व तयारी स्वरूप सचेतनासँगै विभिन्न कामर भइरहेको नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्टले बताउनुभयो । उहाँले जोखिमयुक्त ठाउँहरूको नक्साङ्कन गरेर सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजनाले सचेतना लगायत अन्य विभिन्न काम गरिरहेको बताउनुभयो ।

नेपालगन्जका विभिन्न वडामा भूकम्पबाट जोगिने तरिकाबारे जानकारी दिन अभिमुखीकरण र सचेतीकरण कार्यक्रमहरू निरन्तर चलिरहेको जनाइएको छ ।

नेपालगन्जको वडा नम्बर ३, ४, ५, ६, ७, ८, ११ अझ बढी जोखिममा रहेकाले ती वडामा केन्द्रित गरेर अभियान चलाइएको जिल्ला आपतकालीन सञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । उहाँले विभिन्न वडामा वडास्तरमा विपद व्यवस्थापनमा गर्न सकिने गतिविधिका बारेमा सर्वसाधारणसँग छलफल एवं अभिमुखीकरण गर्ने कार्य चलिरहेको जनाउँदै सबै वडामा जोखिम नक्सांकन तयार गरिने बताउनुभयो ।

जोखिम नक्साङ्कनपछि मात्र भूकम्पीय पूर्व तयारी र प्रतिकार्यका लागि कार्ययोजना बनाएर अघि बढ्न सहज हुने व्यवस्थापन अधिकृत ज्ञवालीले बताउनुभयो । ज्ञवालीले वडास्तरमा विपद व्यवस्थापन समिति गठन, विपद् पूर्व तयारी र प्रतिकार्य कार्यदल गठन, दक्ष जनशक्ति उत्पादन र परिचालन, खोज उद्धारमा सामान खरिद र भण्डारण, विपद् व्यवस्थापन कोष स्थापना, बीमा कार्यक्रम लागू, खुला स्थानको पहिचान लगायतका काम भइरहेको जानकारी दिनुभयो ।

नेपालगन्जको पुरानो बस्तीमा रहेका अधिकांश घर संरचनाहरू निकै पुरानो र जीर्ण रहेकाले ती स्थानका लागि भूकम्प जोखिम बीमा पनि लागू गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button