बाल सुधारगृह वीरगंजका १ सय १८ जना बाल कैदीलाई भोजनको अभाव

वीरगंज । वीरगंजस्थित बाल सुधार गृहमा रहेका १ सय १८ जना बाल कैदीलाई सुधार गृह भित्र भोजनको अभाव हुँदा उनीहरू भोक भोकै बस्न बाध्य भएको गुनासो गरेका छन् ।
सरकारले प्रति व्यक्ति दैनिक ८० रुपैयाँ र ७ सय ग्राम चामल उपलब्ध गराउँदै आएको भए पनि यसबाट किशोर अवस्थाका बालकैदीहरुलाई खाना र खुराक नपुगेपछि उनीहरूले विगतमा विद्रोह गरेको समेत खुलासा भएको छ ।
सुधार गृहमा रहेका किशोर कैदीबन्दीहरुले सोमबार साँझ सुधार गृह पुग्नु भएका पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसँग आफूहरू पेटभर खान नपाएर समस्यामा परेको गुनासो गरेका थिए ।
बीरगंजमा रहेका बाल कैदीहरूले गत महिना सुधार गृहमा ढुङ्गामुढा, तोडफोड गरी केही बालकैदीहरु फरार भएपछि त्यहाँको समस्या बुझ्न पुग्नु भएका प्रमुख जिल्ला अधिकारीलाई अधिकांश बालकैदीहरुले आफूहरूको भोको पेट सरकारले दिने सिदाले नपुगेको गुनासो गरेपछि भोको पेटका कारण आन्दोलनमा उत्रिनु परेको कारुणिक व्यथा सुनाएका थिए ।

यसपछि प्रमुख जिल्ला अधिकारी रेग्मीले बाल सुधार गृहका किशोर कैदी बन्दीहरूलाई उचित खानाको व्यवस्थापनका लागि प्रत्येक महिना आफ्नो तलबबाट ५ हजार रुपैयाँ उपलब्ध गराउँदै आउनु भएको छ ।
दीपावलीको अवसरमा बाल सुधार गृहमा पुग्नु भएका प्रमुख जिल्ला अधिकारीले त्यहाँका समस्याका बारेमा बन्दी किशोरहरूसँग अन्तरक्रिया गर्दा उनीहरूले खानाको समस्या हुँदा आफूहरू कहिलेकाहीँ एक पेट मात्रै खाएर सुत्नु पर्ने बाध्यता रहेको बताएपछि प्रमुख जिल्ला अधिकारीले वीरगंजका सामाजिक संघ संस्थाहरूलाई समेत बाल सुधार गृहमा सहयोग गर्न आग्रह गर्नु भएको छ ।
बाल सुधार गृहमा खटिने सुरक्षाकर्मी तथा सुधार गृहका कर्मचारीले समेत बाल कैदीहरूको सिदा खाई दिने र उनीहरूकै सिदाबाट सुरक्षाकर्मी र कर्मचारी समेत चल्ने हुँदा खाना समस्या भएको गुनासो बालकैदीहरुले गरेका छन् ।
नेपाल सरकारले रासन र तलब दिएका सुरक्षाकर्मी र कर्मचारी नै बाल कैदीहरूको सिदा कटौती गरी त्यहीबाट आफूहरूको खाना खर्च निकाल्न थालेपछि बाल कैदीहरूले विद्रोह गरेको श्रोतले जनाएको छ । प्रमुख जिल्ला अधिकारीको आग्रह पछि आज बाल सुधार गृहमा ग्रिन सिटी सामुदायिक केन्द्र र रुंगटा वेलफेयर सोसाइटीले आलु, प्याज लगायतका खाद्यान्नहरू पुर्याई दिएको छ ।
बाल कैदीसँग दीपावली मनाउन मिठाई लिएर पुग्नु भएका प्रमुख जिल्ला अधिकारीसँग उनीहरूले सुधार गृह भित्र पानीको फिल्टर, लाइन जाँदा सोलारको व्यवस्था, एक थान टिभीको व्यवस्था, इन्डोर गेमका लागि क्यारिम बोर्ड, चेसको व्यवस्था, जाडो आएको हुँदा ब्लायान्केट, ट्राकसुटको व्यवस्था, खाजाको लागि चना, चिउरा, दालमोठ, अण्डाको व्यवस्था, साबुन, टुथपेस्ट, तेल लगायतको सामग्रीको अभाव भएको हुँदा त्यसको व्यवस्था मिलाई दिन आग्रह गरेका छन् ।
सुधार गृहका बाल किशोरहरूको गुनासो पछि प्रमुख जिल्ला अधिकारी रेग्मीले वीरगंजका सामाजिक संघ संस्था, उद्योगी व्यवसायी तथा दाताहरूलाई बाल सुधार गृहका किशोरहरूलाई खान बस्नको लागि आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्