नेपाल शान्तिको संस्थापक : महासचिव गुटेरेस
संघीय संसद्का दुवै सदनमा संयुक्त राष्ट्रसङ्घका महासचिवको सम्बोधन

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले नेपालको संस्कृति सभ्यता र आतिथ्यताले आफूलाई मोहित पारेको बताउनुभएको छ ।

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्नुहुँदै महासचिव गुटेरेसले आफू यसअघि सन् १९७८ मा पहिलो पटक नेपालमा आएको क्षणको स्मरण गर्नुहुँदै शान्तिको संस्थापकका रुपमा नेपाललाई आफूले चिनेको बताउनुभयो ।

नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघले सहयोग गर्न पाएकोमा गर्वको महसुस भएको उल्लेख गर्नुहुँदै महासचिव गुटेरेसले शान्ति सेना मार्फत नेपालले विश्वमा शान्ति स्थापनाका लागि खेल्दै आएको भूमिकाको उच्च प्रशंसा गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले शान्ति सेनामा जीवन गुमाउने नेपाली सिपाहीको सम्झनामा रोष्टमबाटै मौनधारण समेत गर्नुभएको थियो ।

नेपाल आफ्नालागि सधैँ उत्कृष्ट गन्तव्य रहेको र लुम्बिनीबाट यसले शान्तिको सन्देश दिएको पनि महासचिव गुटेरेसले सम्बोधनका क्रममा उल्लेख गर्नुभयो ।

शान्तिको देश नेपालले आफू सहभागी नभएको इजरायल–हमास युद्धमा निर्दोष नागरिक गुमाउनु परेकोमा दुःख व्यक्त गदै महासचिव गुटेरेसले सो घटनामा बेपत्ता रहेका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित आगमनका लागि संयुक्त राष्ट्रसङ्घ लागि रहेका पनि बताउनुभयो ।

लैङ्गिक समानताको क्षेत्रमा नेपालको उपलब्धी उदाहरणीय रहेको, यहाँको सांस्कृतिक विविधता विश्वकै लागि पठनीय विषय भएको भन्दै नेपालबाट आफूले धेरै सिक्ने अवसर पाएको र नेपालको गरिबी र भोकमरीका विरुद्ध लड्न संयुक्त राष्ट्रसङ्घ सधैँ साथ रहने पनि बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्