बाँकेमा विद्युत् महसुल नतिर्नेको आजबाट लाइन काट्दै प्राधिकरण

बाँके । नेपाल विद्युत् प्राधिकरणले महसुल नतिर्ने ग्राहकको लाइन आज (आइतबार)बाट काट्ने भएको छ । अभियानकै रूपमा लाइन काटिने प्राधिकरणको नेपालगन्ज र कोहलपुर वितरण केन्द्रले जानकारी दिएका छन् ।
सार्वजनिक सूचना नै जारी गरी यी दुवै निकायले ‘६० दिनभन्दा बढी समयदेखि विद्युत् महसुल भुक्तानी बाँकी बक्यौता रहेका ग्राहकहरूको यही कात्तिक १२ गतेदेखि अभियानको रूपमा विद्युत् लाइन काट्ने’ बताएका हुन् । प्राधिकरणले सर्वसाधारणका हकमा मात्रै नभई सरकारी कार्यालय र स्वास्थ्य चौकीहरूको पनि विगत लामो समयदेखि बाँकी बक्यौता देखिन आएकाले उल्लिखित सूचनालाई मानेर भुक्तानी नगरे लाइन काट्ने चेतावनी दिएको छ ।
प्राधिकरणले यसअघि नै एउटा सार्वजनिक सूचना जारी गरी बाँकेका ८ स्थानीय तहलाई २२ करोड ८५ लाख रुपैयाँ विद्युत् महसुल तिर्न ताकेता गरिसकेको छ । सम्भवतः उनीहरूको समेत विद्युत् लाइन काटिनेछ । ४५ दिनभित्र महसुल नतिरे कारबाही गर्ने चेतावनी दिएपछि स्थानीय तहका प्रमुखहरू के गर्ने भन्ने विषयमा आपसी छलफल गरिरहेका छन् ।
प्राधिकरणले सार्वजनिक सूचना जारी गरी स्थानीय तहहरूले सडक बत्तीका लागि विद्युत् उपभोग गरेबापत गत असार मसान्तसम्मको रकम नतिरेको विवरण सार्वजनिक गरेको हो ।
‘अनुमति नलिई बिना मिटर आफूखुसी जथाभाबी सडक बत्ती जडान गर्ने कार्य कानुनसम्मत नरहेकाले सो नगर्नु÷नगराउनुहुन तथा बिना मिटर जडान गरिएका त्यस्ता सडक बत्तीहरूमा नेपाल विद्युत् प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी ४५ दिनभित्र नियमानुसार मिटर जडान गर्नु÷गराउनुहुन सम्पूर्ण स्थानीय निकायहरूलाई अनुरोध गरिन्छ’ प्राधिकरणले सूचनामा प्रस्ट भनेको छ । मिटर जडान नगरिएका अनधिकृत सडक बत्तीहरू हटाइने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार बाँकेका ८ स्थानीय तहले २२ करोड ८५ लाख ३१ हजार ८४ रुपैयाँ विद्युत् महसुल बुझाउन बाँकी छ । त्यसमा सबैभन्दा धेरै अर्थात् नेपालगन्ज उप–महानगरपालिकाले १९ करोड ४५ लाख ८ हजार १९ रुपैयाँ विद्युत् महसुल तिर्न बाँकी रहेको छ ।
यस्तै कोहलपुर नगरपालिकाले ५ लाख ९८ हजार ६ सय ४४, बैजनाथ गाउँपालिकाले ६३ हजार ७०, राप्ती सोनारी गाउँपालिकाले १५ हजार ७ सय ७, खजुरा गाउँपालिकाले ५ हजार ७ सय ७८, डुडुवा गाउँपालिकाले १ करोड ९४ लाख ५८ हजार १९, नरैनापुर गाउँपालिकाले १ लाख २३ हजार ७ सय ५० र जानकी गाउँपालिकाले १४ लाख ४९ हजार ३ सय ६८ रुपैयाँ विद्युत् महसुल तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्