तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा भोलि मदिरा विक्री, वितरण तथा उपभोगमा प्रतिबन्ध

नेपालगन्ज । बाँकेमा एक दिन मदिरा विक्री वितरण तथा उपभोगमा प्रतिबन्ध लगाइएको छ । 

जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना जारी गर्दै बडा दशैंको भोलिपल्ट अर्थात् भोलि दुर्गा मूर्ति विसर्जन र्‍याली निस्कने भएकाले र्‍यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन भोलि बिहान ८ बजेदेखि राती १२ बजेसम्म मदिराजन्य पदार्थको ओसारपसार, विक्री वितरण तथा उपभोग निषेध गरिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलद्वारा जारी सूचनामा जिल्लाको समग्र शान्ति सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाई ध्यानमा राखी जारी गरिएको सूचनाको प्रभावकारी कार्यान्वयनका लागि सबैमा अपिल गर्नुभएको छ । सूचनाको बर्खिलाप कुनै गतिविधि वा कार्य भएमा कानुन बमोजिम कारबाही गरिने उल्लेख छ । बाँकेमा बडा दशैंको भोलिपल्ट जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मूर्ति पवित्र जलकुण्ड/नदी घाटहरूमा विसर्जन गर्ने परम्परा छ ।

यसैबिच  जिल्ला प्रशासन कार्यालय बाँकेले बडादसैँको भोलिपल्ट अर्थात् भोलि गरिने दुर्गा मूर्ति विसर्जनका लागि समय सीमा निर्धारण गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले जिल्लामा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले मूर्ति विसर्जनको समय सीमा निर्धारण गरिएको जानकारी दिनुभयो । 

उहाँले दुर्गा भवानीको मूर्ति विसर्जन र्‍याली अत्यन्तै मर्यादित, अनुशासित, शान्त एवम् सौम्य तुल्याउन अनुरोध गर्दै साँझ ५ बजे अघि नै मूर्ति विसर्जन सम्पन्न गर्न अनुरोध गरिएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button