लोपोन्मुख र अल्पसङ्ख्यक कुशबधिया समुदायको पुर्ख्यौली पेशा सङ्कटमा

नेपालगञ्ज । बाँकेमा न्यून सङ्ख्यामा रहेको लोपोन्मुख र अल्पसङ्ख्यक कुशबधिया समुदायको पुर्ख्यौली पेशा सङ्कटमा परेको छ । बर्षौंदेखि ढुङ्गाको सिलौटा र डोरी बिक्री गरेर जीविकोपार्जन गर्दै आइरहेको कुशबधिया समुदायको परम्परागत पेशा प्रविधिको विकास र बिस्तारसँगै सङ्कटमा परेको हो ।
कुशबधियाहरु आफैँ ढुङ्गाको सिलौटा बनाउँछन् । डोरी पनि आफैँ निर्माण गर्दछन् । उनीहरूले परम्परागतरुपमा बनाउँदै आएका यी सामग्रीहरूले भने आजभोलि बजार पाउन छाडेका छन् । बजारमा पाइने आधुनिक सामानका कारण ढुङ्गाबाट बनाइने सिलौटा र सनपाटबाट बन्ने डोरी बिक्री गर्नै मुस्किल भएको जानकी गाउँपालिका वडा नम्बर ३ का मनोजकुमार कुशबधियाको भनाई छ ।

सिलौटा मसला पिस्न तथा डोरी लडिया र ठेलागाडा चलाउनेहरूले किन्ने गर्दथे । गाउँ(गाउँ पुगेर सिलौटा बिक्री गर्ने गरेकोमा अहिले आधुनिक उपकरणहरुको पर्याप्तताले आफ्ना उत्पादन खेर जान थालेपछि घर परिवार चलाउनै मुस्किल भएको कुशबधियाहरु बताउँछन् । सनपाटको डोरीको स्थान प्लास्टिकको डोरीले लिएको छ । गरिबी र अभावमा बाँचिरहेका अल्पसङ्ख्यक कुशबधियाको दैनिकी कष्टकर बन्दै गइरहेको छ । इन्द्रपुरका चुन्की कुशबधियाले सिलौटाको ठाउँ गाउँघरमा खुलेका मिल र मिक्सचरले लिएको बताउनुहुन्छ । प्लाष्टिकको डोरीका कारण सनपाटबाट आफूहरूले बनाएका डोरी त्यसै खेर गइरहेको दुःखेसो छ, फुला कुशबधियाको

बाँकेमा जानकी गाउँपालिका वडा नम्बर ३ इन्द्रपुरमा थोरै सङ्ख्यामा कुशबधिया जातिको बसोबास छ । स्थानीय सरकारले लोपोन्मुख र अल्पसङ्ख्यक जातिहरूको पुर्ख्यौली पेशा संरक्षणका लागि योजना बनाएको बताएको छ । उनीहरूको परम्परागत पेशालाई स्तरोन्नति गर्दै बजारीकरणमा सहयोग गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताउनुभयो ।
कुशबधिया समुदायले महिनौँ लगाएर निर्माण गरेका परम्परागत सामानहरू बिक्री हुन छाडेपछि उनीहरू निराश छन् ।








प्रतिक्रिया राख्नुहोस्