‘विकासमा मिडियाको दायित्व’ विषयक कार्यशाला सम्पन्न
दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाको सहयोगमा चरिकोट मिडिया फाउण्डेशनले आयोजना गरेको तीन दिने विकासमा मिडियाको दायित्व विषयक कार्यशाला गोष्ठी शनिबार सम्पन्न भएको छ ।

गोष्ठीका सहभागीहरूलाई भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धरले प्रमाणपत्र वितरण गर्नुभयो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै भीमेश्वर नगरपालिकाका नगर प्रमुख मानन्धरले पत्रकारहरूले मानवीय संवेदनाका विषयलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले समाजका महिला, दलित, जनजाति, विपन्न बर्गलाई लक्षित गरेर विकासका प्राथमिकता निर्धारण गर्नुपर्ने बताउनुभयो ।

चरिकोट मिडिया फाउण्डेशनका अध्यक्ष जीवन लामाको सभापतित्वमा सम्पन्न कार्यशालामा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य चिरञ्जीवी मास्के, कालिन्चोक उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक शम्भु गौतम, तालिमका सहभागी सुधा श्रेष्ठ र नरमाया थामीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यशालामा पत्रकारिताको सिद्धान्त र नीतिगत पक्ष, भीमेश्वर नगरपालिकाको गतिविधि, विकास र पत्रकारिता, आचारसंहिता र कानुनी पक्ष, प्रविधि र फोटोग्राफी, योजना तर्जुमा, योजना अनुगमन लगायतको विषयमा छलफल गरिएको फाउण्डेशनका अध्यक्ष जीवन लामाले बताउनुभयो ।
कार्यशालामा विभिन्न मिडियामा कार्यरत पत्रकार, स्थानीय गौरीशङ्कर बहुमुखी क्याम्पस र कालिन्चोक माविमा पत्रकारिता अध्ययन गर्ने विद्यार्थी र विभिन्न संस्थामा कार्यरत प्रतिनिधि गरी ३५ जनाको सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्