तपाईँ सुन्दै हुनुहुन्छः

चितवन मेडिकल कलेजमा स्तन क्यान्सरको निःशुल्क  परीक्षण

चितवन। चितवन मेडिकल कलेज शिक्षण अस्पतालको सिएमसी क्यान्सर इन्स्टिच्युटमा स्तन क्यान्सर परीक्षण निःशुल्क गरिएको छ । 

अक्टोबर महिनाभरि स्तन क्यान्सर सचेतना महिनाको अवसरमा अस्पतालले  ओपिडी टिकट निःशुल्क गरिएको हो । कलेजले अक्टोबर महिना भरी स्तन क्यान्सर स्क्रिनिङका लागि मेमोग्राम र ब्रेष्ट युएसजीमा ३० प्रतिशत छुट दिइएको आज आयोजित अस्पतालमा जानकारी दिईयो ।

सो अवसरमा बोल्दै अस्पतालका निर्देशक प्रताप देवकोटाले अस्पतालको क्यान्सर इन्स्टिच्युट अत्याधुनिक सेवा सहित सबै प्रकारका उपचार भइरहेको बताउनु भयो । ’हामीले क्यान्सर सचेतना मन्थको अवसरमा निःशुल्क , छुट सुविधा र अन्य उपचारमा सहुलियत र गुणस्तरीय सेवा दिँदै आएका छौँ । ’देवकोटाले भन्नुभयो । 

अस्पतालले स्तन क्यान्सर न्यूनीकरण र रोकथामका लागि विभिन्न सचेतना कार्यक्रम समेत गर्दै आएको छ । यसको न्यूनीकरणका लागि अस्पतालले चितवनका हरेक स्कुल , कलेजमा प्रत्येक शुक्रवार सचेतना दिँदै आएको अस्पतालका अंकोलोजिष्ट डाक्टर सुवास ठाकुरले जानकारी दिनुभयो ।  उहाँका अनुसार  कक्षा ९ भन्दा माथिका छात्राहरू र विद्यालय, क्याम्पसमा कार्यरत महिला कर्मचारीलाई स्तनमा हुने गाँठागुँठी तथा गिर्खाहरूको पहिचान कसरी गर्ने, कसरी आफैले थाहा पाउन सकिन्छ भन्ने विधि सिकाउने गरिएको छ ।

उहाँले स्तनमा गाँठागुँठी भेटिएमा आत्तिइहाल्नु नपर्ने र चिकित्सकको परामर्श लिनुपर्ने बताउनुभयो । ‘स्तनमा हुने सबै गाँठागुँठी क्यान्सर हुँदैनन्, तर गाँठागुँठी देखिए क्यान्सर हो होइन भन्ने यकिन गर्नुपर्छ ’ डाक्टर ठाकुरले भन्नुभयो ।” त्यसका लागि मेमोग्राम र युएसजी गरेर क्यान्सरको यकिन गर्न सकिने उहाँको भनाई थियो ।

क्यान्सर इन्स्टिच्युट सबै बढी मुख, जिब्रो, घाँटी, पाठेघर, ब्रेष्ट र फोक्सोका क्यान्सर भएका बिरामी आउने गरेको उहाँले बताउनु भयो  ।

सो अवसरमा बोल्दै अस्पतालका कार्यकारी निर्देशक डा.दयाराम लम्सालले शुरुआती अवस्थामा स्तन क्यान्सर पहिचान गर्न सके निको हुने दर पनि उच्च हुने  बताउनुभयो ।

स्तन क्यान्सर महिलामा मात्रै नभएर पुरुषमा पनि हुने गर्दछ । हरेक एक लाख जनसङ्ख्यामा चार÷पाँच जना पुरुषलाई स्तन क्यान्सर हुने गरेको चिकित्सक विशेषज्ञको भनाई  छ ।

विश्व स्वास्थ्य सङ्गठनले हरेक वर्ष अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिना (ब्रेष्ट क्यान्सर अवारनेश मन्थ) रूपमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाउँदै आएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button