तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा स्क्रब टाइफसका बिरामी ४४० पुगे

टीकापुर, कैलाली । सुदूरपश्चिम प्रदेशमा सबै भन्दा बढी स्क्रब टाइफसका बिरामीहरू कैलालीमा भेटिएका छन् । 

चालु आर्थिक वर्षको साउन महिनादेखि अहिलेसम्म ४४० जना स्क्रब टाइफसका बिरामी भेटिएका हुन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार प्रदेशभर उक्त समयमा एक हजार १५२ जना बिरामी भेट्टिएकोमा कैलालीमा मात्र ४४० जना बिरामी भेटिएका हुन् । अहिलेसम्मको तथ्याङ्क हेर्दा सबै भन्दा कम बाजुरामा ७ जनामा मात्र स्क्रब टाइफस देखिएको छ । 

त्यो समयमा दार्चुलामा १४०, बझाङमा १३३, अछाममा १११, डडेल्धुरामा ९४, कञ्चनपुरमा ९०, डोटीमा ८९ र बैतडीमा ४८ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । चालु आर्थिक वर्षमा सुदूरपश्चिममा स्क्रब टाइफसबाट बैतडीका एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जानकारी दिएको छ । 

बिरामीको सम्बन्धित जिल्लाको स्वास्थ्य चौकी र अस्पतालमा उपचार भइरहेको छ । केही बिरामी उपचारपछि निको भइसकेका छन् भने केहीको उपचार भइरहेको छ । विशेषगरी साउन भदौदेखि असोज कार्तिकसम्म स्क्रब टाइफसको संक्रमण बढी हुने गरेको देखिन्छ । अहिले सुदूरपश्चिम प्रदेशका सबै ९ ओटै जिल्लाहरूमा स्क्रब टाइफसका बिरामी भेटिएका छन् । 

मुसामा हुने एक प्रकारको किर्ना जातले मानिसलाई टोकेपछि त्यो मानिसलाई स्क्रब टाइफस हुने गर्छ । त्यसबाट जङ्गल तथा खेतबारीमा काम गर्ने मानिसहरू बढी प्रभावित हुने गरेका छन् । त्यसकारण नागरिकहरूले वनजंगल तथा खेतबारीमा काम गर्न जाने क्रममा सतर्कता अपनाउँदा स्क्रब टाइफसबाट बच्न सकिने सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीको भनाई छ ।

स्क्रब टाइफस भएपछि बिरामीहरूलाई ज्वरो आउनुका साथै त्यो किर्नाले टोकेको ठाउँमा सानो घाउ पनि देखिने हुन्छ । यदि बिरामीलाई ज्वरो पनि आयो र शरीरमा त्यस्तो सानो रातो घाउ पनि देखियो भने कतै स्क्रब टाइफस पनि हुनसक्छ भनी नजिकैको स्वास्थ्य संस्थामा जान भेक्टर कन्ट्रोल निरीक्षक जोशीले आग्रह गर्नु भएको छ । गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा दुई हजार २७५ जना स्क्रब टाइफसका बिरामीहरू भेटिएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button