तपाईँ सुन्दै हुनुहुन्छः

चाडबाडकाे समयमा यातायात सहज र सुरक्षित बनाउन समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा, पूर्वाधार विकास समितिले दशै तिहार लगायतका चाडबाडका समयमा सार्वजनिक सवारी साधनहरूमा यात्रा गर्दा यात्रुलाई सास्ती दिने, अवाञ्छित गतिविधि गर्ने, अस्वस्थ प्रतिस्पर्धा गर्ने, सडक मापदण्ड पालना नगर्ने जस्ता क्रियाकलाप निरुत्साहित गर्न सरकारलाई निर्देशन दिएको छ । 

समितिको आजको बैठकले दशै नजिएकाले उपत्यकाबाट बाहिरिने यात्रुका लागि समयमा नै टिकट बुकिङ खुला गर्न तथा टिकट बुकिङ कार्यलाई पारदर्शी बनाउन, बिचौलियालाई रोक्न, सवारी क्षमता भन्दा बढी टिकट बिक्री गर्न नदिन र यातायातको अभाव हुन नदिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । 

समितिले चाडबाडका समयमा बढ्दो सवारी चाप खेप्न मापन योग्य सवारी साधन मात्र चलाउने, सडक सुरक्षामा विशेष ध्यान दिने, क्षमताभन्दा बढी यात्रु राख्न नदिने, सवारी साधनाको छतमा यात्रु राख्न नदिने र मापदण्ड विपरीत चलाउने सवारी साधनको सडकमा नै छड्को जाँच गर्न समेत सम्बद्ध निकायलाई निर्देशन दिएको छ । 

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले दशै लगायतका चाडबाडका लागि अग्रिम बुकिङ खुल्ला गर्ने, सहज रुपमा यातायात सञ्चालन गर्ने, भाडादर व्यवस्थापन र सहज यात्राका लागि यातायात व्यवस्था विभागले काम शुरु गरिसकेको बताउनु भयो । 

मन्त्री ज्वालाले दशैका समयमा १५ लाख भन्दा बढी मानिस उपत्यकाबाट बाहिरिने हुँदा यातायात व्यवसायीहरूसँग समेत छलफल गरेर सहज बनाउन पहल भइरहेको पनि जानकारी दिनुभयो ।

उहाँले चाडबाडलाई लक्षित गरी सडक मर्मत, सुधार, लामो दुरीका सडक व्यवस्थापन तथा उपत्यका भित्रका सडकको खाल्डाखुल्डी पुर्ने काम भइरहेको र दशैअघि मन्त्रालय मातहत रहेका उपत्यका भित्रका सडक सुधारको काम सम्पन्न गरिसक्ने गरी काम भइरहेको समेत बताउनु भयो ।

बैठकमा समितिका सदस्यहरुले दसैँमा घर जानेहरूका लागि समयमा नै टिकट बुकिङ खुला गर्नुपर्ने, ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने, भत्किएका सडक मर्मत गर्नुपर्ने, यात्रुले यात्राका क्रममा बेहोर्नु पर्ने महँगी, गुणस्तरहीन खाना लगायतका विषयमा पनि सरकारको समयमा नै ध्यान जानु पर्ने र अनुगमन गर्नु पर्नेमा जोड दिनुभयो । 

सांसदहरुले चाडबाडका समयमा लामो दुरीका साथै ग्रामीण सडक सुधार गरेर यात्रुहरूलाई सहज रुपमा घरसम्म पुग्ने व्यवस्था गर्नुमा जोड समेत दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button