बर्दियाका १ सय ३१ घर डुबानमा

बाँके । लगातारको वर्षाका कारण बर्दियाका दुई पालिकामा एक सय ३१ घर डुबानमा परेका छन् । जिल्ला प्रशासन कार्यालय बर्दियाले दिएको जानकारीअनुसार गुलरिया र ठाकुरबाबा नगरपालिकामा घरहरू डुबानमा परेका हुन् ।
गुलरियाकाे भादा नदीमा आएको बाढी तथा ठाकुरबाबा बर्दिया निकुञ्जभित्रबाट आएको बाढीले घरहरू डुबाएको हाे ।
बाढीका कारण गुलरियाका वडा नम्बर ५ र ठाकुरबाबाका २, ६, ७ र ८ नम्बर वडाहरू बढी प्रभावित भएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत लोकप्रसाद ढकालले जानकारी दिनुभयो।
‘बाढीले मानवीय र ठूलो भौतिक क्षति नगरे पनि केही घरहरूमा पानी पसेको छ,’ उहाँले भन्नुभयाे, ‘सबैभन्दा धेरै डुबानले ठाकुरबाबाका चार वडालाई प्रभावित बनाएको छ ।’

उहाँका अनुसार गुलरियामा १२ घर र ठाकुरबाबामा एक सय १९ घर डुबानमा परेका छन् । मंगलबार बिहान बबई र भादा नदीले सतर्कताको तह पार गरे पनि अपराह्न पछि भने बाढीको तह घट्दै गएको तर फेरि मङ्गबार रातिको भीषण बर्षाले पुन नदीको सतह बढ्दै गएको प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयाे ।
भादा नदीको टापुमा फसेका ९५ जनालाई सुरक्षाकर्मीहरूले उद्धार गरेर सुरक्षित स्थानमा सारेकाे छ । भादा नदीमा बाढीको सतह बढेपछि टापुमा रहेका उनीहरू फसेका थिए ।
ठाकुरबाबाका मोहनपुर, भुडकैया, सुन्दर बस्ती, ठाकुरबाबा लगायतका गाउँ डुबानमा परेका थिए । घरमा पानी पसेपछि उद्धारको लागि स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीलाई रबर बोटसहित परिचालन गरिएको थियो ।
वर्षा नरोकिँदा नदिको सतह अझै बढ्न सक्ने हुँदा तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह समेत गरिएको उहाँले जानकारी दिनु भएको छ।







प्रतिक्रिया राख्नुहोस्