त्रिविमा ४१ दिनदेखि ताला : संसदीय समितिमा उपकुलपतिले भन्नुभयो- विश्वविद्यालय खस्कँदो अवस्थामा छ

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उच्च शिक्षाको वर्तमान अवस्थाका बारेमा छलफल भएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले नेपालको सबैभन्दा जेठो त्रिभुवन विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गर्न नसकेको धारणा व्यक्त गर्नुभयो ।
सांसदहरुले विश्वविद्यालयका गोल्ड मेडलिस्टहरुलाई सिधैँ प्राध्यापकमा नियुक्ति दिएर नेपालमै बस्न प्रेरित गर्नुपर्ने बताउँदै विश्वविद्यालयका विभिन्न विभागका प्रमुख पनि प्राध्यापक नै नियुक्त गरिनुपर्नेमा जोड दिनुभयो ।
नेपालका विभिन्न विश्वविद्यालयबाट स्नातकोत्तर गरेका विद्यार्थीहरूले जागिर नपाउने समस्या यथावत् रहेको भन्दै सांसदहरुले विश्वविद्यालयले सीपसँग शिक्षालाई जोड्ने गरी पाठ्यक्रम परिमार्जन गर्न सुझाव दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयमा महिला प्राध्यापकहरूमाथि विभिन्न किसिमका दुर्व्यवहार हुने गरेको, परीक्षा समयमा हुन नसकेको, थेसिस लेख्ने क्रममा प्राध्यापकहरूले विद्यार्थीलाई दुख दिने गरेको भन्दै सांसदहरुले विश्वविद्यालयमा देखिएका विकृति र समस्या स्थायी रूपमै समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो ।
बैठकमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा.धर्मकान्त बास्काेटाले ४१ दिनदेखि स्थानीयले उपकुलपति, रेक्टर, रजिष्टार लगायतको कार्यालयमा तालाबन्दी गरेकाले पठनपाठन बन्द रहेको जानकारी गराउँदै सुरक्षाका कारण विश्वविद्यालय खोल्न नसकेको बताउनुभयो ।

उपकुलपति बास्कोटाले त्रिविमा प्रविधिमैत्री कर्मचारी अभाव भएका कारण प्राविधिक विषयका पठाइलाई असर परेको बताउनुभयो ।
त्यसैगरी विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले मुलुकको प्राथमिकतामा परेको प्राविधिक विषयको अध्ययनमा जम्मा २० प्रतिशत विद्यार्थी भर्ना भएको जानकारी गराउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्