तपाईँ सुन्दै हुनुहुन्छः

सिक्टा सिँचाइ आयोजनाको काम सुस्त, लक्ष्यको ५० प्रतिशत क्षेत्रमा मात्र सिँचाई

नेपालगञ्ज । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको काम सुस्त गतिमा भइरहेको छ । 

निर्माणको समयावधि लम्बिँदा लागत पनि त्यही अनुपातमा बढ्दै गएको छ । १८ बर्षअघि सुरुवाती लागत ७ अर्ब रुपैयाँ रहेकोमा यो लागत बढेर ५२ अर्ब ८९ करोड पुगेको छ । तर, काम भने सुस्त गतिमा छ । सिक्टा नहरमा हालसम्म २० अर्ब २५ करोड रुपैयाँ खर्च भइसकेको छ । 

सिक्टाको पानीबाट बाँकेमा हालसम्म २० हजार २ सय हेक्टर जमिनमा सिँचाई पुगेको छ । आयोजनाको पश्चिमी नहरबाट १६ हजार र पूर्वी नहरबाट ४ हजार २ सय गरी २० हजार २ सय हेक्टर जमिनमा सिँचाई पुगेको सिक्टा सिँचाइ आयोजनाले जनाएको छ । 

बाँकेको करिब ४३ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाई सुविधा पुर्‍याउने उद्देश्यले आर्थिक वर्ष २०६२÷०६३ देखि सिक्टा सिँचाई आयोजना निर्माण थालिएको थियो । 

आयोजना सुरु भएको करिब दुई दशकमा लक्ष्यको ५० प्रतिशत क्षेत्रमा मात्र सिँचाई पुग्न थालेको छ । तेस्रो पटक गुरुयोजना परिवर्तन गरेर वि.सं. २०९० मा आयोजना सक्ने लक्ष्य राखिएको छ । तर, सरकारले बजेट कटौती गर्दै गइरहेको छ भने पाएको बजेट पनि आयोजनाले खर्च गर्न सकेको अवस्था देखिँदैन ।

आर्थिक वर्ष २०७९÷८० का लागि १ अर्ब २६ करोड लागत अनुमान गरिएकोमा सरकारले ५३ प्रतिशत घटाएर बजेट पठायो । आयोजनाले गत आर्थिक वर्षको १ अर्ब ७० करोड १० लाख रुपैयाँमध्ये ५१ प्रतिशत बजेट खर्च गर्न सकेन । बाँकेमा अहिले ३६ हजार ५ सय हेक्टरमा धान खेती हुन्छ । बाह्रैमास पानी सुविधा भएमा किसानले धान बाहेकका खेतीबाट पनि राम्रो आम्दानी गर्ने आशा गरिए पनि काम सुस्त गतिमा भइरहेको छ । 

सिक्टाले ६ महिनादेखि ८ क्यूमेक्स पानी छोडेर परीक्षण गरिरहेको छ । पूर्वी र पश्चिम नहरमा छोडिएको यो पानीबाट किसानले न्यून सुविधा पाएका छन् । ५० क्यूमेक्स क्षमताको नहरमा पूरै पानी छोड्दा भत्किने डर छ । यसअघि दुई पटक नहर भत्किसकेको छ । नहर भन्दा उँचो खेतमा पानी पुर्‍याउन आयोजना लागिपरेको बताइएको छ । 

आयोजनाका सिनियर डिभिजन इन्जिनियर तिलकराम बुढाथोकीले पश्चिमतिरको कचनापुर, ढकेरी र बालापुरको ३ सय १५ हेक्टर जमिनमा पानी पुर्‍याउन पाइलट प्रोजेक्टको रुपमा लिफ्ट प्रणालीबाट सिँचाइ पुर्‍याउन नीति तथा कार्यक्रममा राखिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button