तपाईँ सुन्दै हुनुहुन्छः

पशुपति क्षेत्रबाट वैदिक मन्त्रोच्चारणसहित सूचनाको हकका लागि समुदाय जागरण

काठमाडौँ। पशुपति क्षेत्रबाट वैदिक मन्त्रोच्चारणसहित सूचनाको हकका लागि समुदाय जागरणको दोस्रो हप्ताको कार्यक्रम गरिएको छ ।
    
सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ जिल्ला कार्य समिति काठमाडौँको आयोजनामा काठमाडौँ महानगरपालिका वडा नं ७ स्थित चाबहिल चोकबाट सुरु भएको जागरण यात्राको आरम्भमा वैदिक पण्डितले मन्त्रोच्चारण गरी कार्यक्रम सुरु गरिएको हो । जागरण यात्रा चन्द्रविनायक मन्दिर, मित्रपार्क, सिफल, जयवागेश्वरी, भुवनेश्वरी हुँदै वनकालीमा आएर समापन भएको थियो ।
  
कार्यक्रममा पशुपति मित्र माध्यमिक विद्यालय, स्थानीय क्लब एवं सङ्घ संस्थालगायत स्थानीयवासी, जनप्रतिनिधिलगायतको सहभागिता थियो । ‘सूचना मागौँ, भ्रष्टाचारको अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ सुरु भएको प्रभात फेरीमा ‘सूचना किन माग्ने ?’, ‘सूचना कहाँ माग्ने ?’, ‘कस्ता सूचना माग्ने ?’, ‘सूचना कसरी माग्ने ?’, ‘कस्लाई माग्ने ?’, ‘सूचना नदिनेलाई के हुन्छ ?’ लगायत नारा लेखिएको पर्चा वितरण गरिएको थियो । 
 
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय सूचना आयोगका आयुक्त कमला ओली थापाले स्वीडेनमा सूचनाको हक लागू भएको दुई सय ३५ वर्षपछि नेपालमा सूचनाको हक कार्यान्वयनको बाल चरणमा रहेको बताउनुभयो । अनियमितताका विरुद्ध सामाजिक सञ्जालमा लेखेरमात्र नहुने उल्लेख गर्नुहुँदै उहाँले त्यसका बारेमा सूचना माग गरेर पारदर्शिता कायम गराउन सकिने भनाइ राख्नुभयो ।
 
“सूचना नपाएर आयोगमा पुनरावेदन गर्नेलाई दिन आदेश गर्ने गरिएको छ, आयोग दिनुपर्ने सूचना दिलाउन कठोर भएर लागेको छ, तोकेकोभन्दा कम समयमा दिन सकिने तर सूचना नदिनेलाई कारबाही हुन्छ”, आयुक्त थापाले भन्नुभयो । 
 
पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी गौरीशङ्कर पराजुलीले सुशासनका लागि सूचनाको हक आवश्यक रहेकामा जोड दिनुभयो । कोषमा सूचना माग गर्नेलाई सूचना समयमै दिने गरिएको उल्लेख गर्नुहुँदै उहाँले कानुनमा तोकिएको समय अलि कम भएको हो कि ? भन्ने लागेको बताउनुभयो । 
 
काठमाडौँ महानगरपालिका वडा नं ७ का अध्यक्ष विमलकुमार होडाले वडामा प्रत्येक महिना भए गरेका कामको सूचना विवरण बनाएर सार्वजनिक गर्ने परिपाटी बसालिएको जानकारी दिनुभयो । समुदाय जागरण यात्रामा वडा नं ८ का अध्यक्ष आशामान संगतको पनि सहभागिता रहेको थियो । 
 
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महासङ्घका केन्द्रीय अध्यक्ष उमिद बागचन्द र काठमाडौँ उपत्यका प्रदेश अध्यक्ष तारबहादुर भण्डारीले सूचनाको हक नागरिकस्तरसम्म अभ्यासमा लैजान समुदाय जागरण अभियान सुरु गरिएको बताउनुभयो । गत असार ३० गते शनिबार विश्वसम्पदा सूचीमा सूचिकृत बौद्धनाथ क्षेत्रबाट अभियान सुरु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button