कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक भोलि १ बजे बस्ने
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक भोलि दिउँसो १ बजेदेखि बस्ने भएको छ ।
भोलिदेखि पार्टी केन्द्रिय कार्यालय सानेपामा सुरु हुने बैठकका लागि तयार पारिएको प्रस्ताव र प्रतिवेदनहरूमाथि छलफल गर्न आज बसेको पार्टीको पदाधिकारीहरूको बैठकमा प्रस्ताव र प्रतिवेदनसहित १० वटा बुँदागत विषयहरू प्रस्तुत गर्ने तयारी गरिएको बैठकपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताउनुभयो ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले नेपाली काँग्रेसको राष्ट्रव्यापी अभियान सञ्चालन गर्न केन्द्रिय समितिको बैठकमा छलफल गरी अभियान सञ्चालनका लागि पार्टी अगाडी बढ्ने बताउनुभयो ।
पदाधिकारी बैठकमा भोलिदेखि सुरु हुने केन्द्रिय कार्यसमितिको बैठकमा छलफल हुने समसामयिक राजनीतिक, सामाजिक, परराष्ट्र, शासन, सुशासन सम्बन्धी विषयका साथै साङ्गठनिक कार्ययोजना, कार्यतालिका, नीति महाधिवेशन, विभागहरू गठन लगायतका विषयमा छलफल भएको र ती विषयहरू बैठकमा पेश हुने महामन्त्री शर्माले जानकारी दिनुभयो ।
केन्द्रिय समिति बैठकमा संघीय सरकारका साथै सात वटै प्रदेश सरकारमा नेपाली काँग्रेसको सहभागिता रहेकाले सरकारका गतिविधिका बारे पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रतिवेदन पेस गर्नुहुनेछ भने प्रतिनिधि सभामा पार्टीको भूमिकाबारे प्रमुख सचेतक रमेश लेखकले प्रतिवेदन पेस गर्नुहुने कार्यक्रम रहेको महामन्त्री शर्माले बताउनुभयो ।
यस्तै अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले अनुशासन समितिले तयार पारेको प्रतिवेदन र निर्वाचन परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठले समितिले तयार पारेको प्रतिवेदन केन्द्रिय समितिको बैठकमा पेस गर्नुहुने पनि महामन्त्री शर्माले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्