जुम्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

जुम्ला । जुम्ला जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।
यहाँका आठै पालिकाका १५ महिना मुनिका सबै बालबालिका पूर्ण खोपको पहुँचमा पुगेसँगै जुम्लालाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख प्रेम सुमाईले बताउनुभयो ।
उहाँका अनुसार जिल्लाका आठै पालिका यसअघि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भइसकेका छन् ।
१५ महिनामुनिका सबै बालबालिका अनिवार्य पूर्ण खोपको पहुँचमा पुग्नुपर्ने संवैधानिक व्यवस्था र वार्षिक कार्यक्रम अनुसार जुम्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायसहित आठै पालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारीलगायत स्वास्थ्यकर्मीहरूको सहभागितामा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ ।

समन्वय प्रमुख गौरीनन्द आर्चायले घोषणाको प्रभावकारी कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो । पूर्ण खोप घोषणा भएपनि अझै खोपबाट वञ्चित बालबालिकालाई खोपको पहुँचमा ल्याउन विभिन्न सचेतनाका कार्यक्रम गर्नुपर्ने उहाँको भनाई छ ।
हाल जुम्लाको खोप कभरेज ७५ प्रतिशत मात्रै रहेको छ । भने करिब २५ प्रतिशत बालबालिका अझै पूर्ण खोपबाट वञ्चित छन् ।
साथै कार्यसम्पादनका आधारमा चन्दननाथको महत गाउँ स्वास्थ्य चौकी प्रथम,पातारासीको पटमारा स्वास्थ्य चौकी द्वितीय र तातोपानीको हाँकु स्वास्थ्य चौकी तृतीय भएका छन् ।







प्रतिक्रिया राख्नुहोस्