तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा कार्यालय आउन नसक्ने तीन जनालाई घरमै पुगेर नागरिकता वितरण

भोजपुर । नागरिकताबाट बञ्चित भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाका तीन जनालाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर नागरिकता वितरण गरेको छ । 

भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले पौवादुङमा गाउँपालिका वडा नम्बर ४ र ६ का अपाङ्ग, अशक्त र फरक क्षमता भएका नागरिकहरूलाई घर–घरमै गएर नागरिकता वितरण गर्नुभएको हो । 

वडा नम्बर ४ बास्तिमका तेज कुमार राईलाई ०९–०१–८०–०१३७४ नम्बर, सोही वडाका आसमाया राईलाई ०९–०१–८०–०१३७५ र वडा नम्बर ६ ठुलोदुम्माका अरुणराज राईलाई ०९–०१–८०–०१३७६ नम्बरको नागरिकता प्रमुख जिल्ला अधिकारी घिमिरेले घरमै पुगेर वितरण गर्नुभयो । 

नागरिकता नहुँदा सरकारी सेवाहरूबाट पनि बञ्चित हुनुपरेको जानकारी गाउँपालिकाबाट आएपछि आफूहरूले घरमै गएर नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारीसहित नागरिकता वितरणका क्रममा जिल्ला न्यायाधीश मणिराम न्यौपाने, प्रशासकीय अधिकृत राजु शर्मा, जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख शरद कुमार थापा क्षेत्री, सशस्त्र प्रहरीका प्रमुख दिनेश श्रेष्ठ, पालिका अध्यक्ष किरण राई, स्थानीय वडाका जनप्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो । 

जिल्ला प्रशासन कार्यालय आएर नागरिकता बनाउन नसक्नेहरूका लागि विगतका पनि घर मै गएर नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रशासकीय अधिकृत राजु शर्माले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button