मुस्लिम वर्गमा जनचेतनाको अभाव : प्रदेश सभामुख मण्डल
जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मधेश प्रदेशमा मुस्लिमको जनसङ्ख्या करिब १३ प्रतिशत भए पनि जनचेतनाको अभावले राज्यमा उचित सहभागिता हुन नसकेको बताउनुभएको छ ।

मुस्लिम आयोगले जनकपुरधाममा आयोजना गरेको मुस्लिम समुदायका जनप्रतिनिधिहरूको क्षमता विकास तथा सशक्तीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले आयोगले मुस्लिम समुदायको शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा जनचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
सभामुख मण्डलले मुस्लिम समुदायको सङ्ख्या ठूलो रहे पनि राजनीतिक सहभागिता अपेक्षाकृत रुपमा कम भएको बताउनुभयो ।
कार्यक्रमका सभापति तथा मुस्लिम आयोगका अध्यक्ष समीम मिया अन्सारीले मधेश प्रदेशमा मुस्लिम वर्गको १३ प्रतिशत जनसङ्ख्या भए पनि प्रदेश सभा, पालिका प्रमुख तथा उपप्रमुखमा ज्यादै कम सहभागिता रहेको बताउनुभयो । उहाँले मुस्लिम वर्गलाई महिला तथा दलित जस्तै विशेष अधिकार प्रदान गर्न माग गर्नुभयो ।
प्रदेश सभा सदस्य समसुल हकले मुस्लिम वर्गमा अहिले पनि शिक्षाको कमी भएको उल्लेख गर्दै आधुनिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्