तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम बागमती प्रदेश युवा सम्मेलनको तयारी पूरा

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडामा भोलिदेखि हुने प्रथम बागमती प्रदेश युवा सम्मेलनको तयारी पुरा भएको छ ।

आइतबार हेटौँडामा पत्रकार सम्मेलन मार्फत प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईले प्रथम प्रदेश युवा सम्मेलनको तयारी पूरा भएको जानकारी दिनुभएको हो ।

भोली र पर्सी दुई दिन सञ्चालन हुने सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट समावेशी अवधारणाअनुसार १५० युवाको सहभागिता रहने कार्यकारी उपाध्यक्ष चौलागाईले जानकारी दिनुभयो । प्रदेशका १३ जिल्लाका जिल्ला युवा समितिमार्फत सिफारिस भई आएका ७५ जना, अनलाइनमार्फत आवेदन दिएका मध्ये ६० र १५ जना सरोकारवाला संघ, संस्था र सरोकारवाला निकायको सिफारिसमा छनोट भएका छन् । सम्मेलनमा सहभागी हुने युवा छनोटका क्रममा ७२ जना पुरुष, ४१ जना महिला र ३ जना लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक छनोट भएको उहाँले बताउनुभयो ।

सम्मेलनमा युवालाई अभिमुखीकरण र अभिप्रेरित गर्ने गरी ख्यातिप्राप्त व्यक्तित्व, सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वलाई श्रोत व्यक्तिको रुपमा सहभागी गराइएको उहाँले बताउनुभयो । सम्मेलनमा सहभागी युवाले आफ्ना अनुभव, अपेक्षा र योजना प्रस्तुत गरेर श्रोत व्यक्तिसँग अन्तरक्रिया गर्नेछन् ।

सम्मेलनमा ५ वटा महत्वपूर्ण सत्रको आयोजना गरिनेछ । सम्मेलनमा नवप्रवर्तन र नवीनतम सोच, सूचना प्रविधि, सामाजिक र सार्वजनिक जीवनमा युवा सहभागिता, उद्यम एवम् व्यावसायिक सुरुवात र उद्यमशीलता र सामाजिक सञ्जालका विषय युवामाझ प्रस्तुती र अन्तरक्रिया हुनेछ । सम्मेलन आयोजनाका लागि करिब २० लाख रुपैयाँ लागत लाग्ने कार्यकारी उपाध्यक्ष चौलागाईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button