मह बिक्री नहुँदा मौरीपालक मर्कामा

चितवन । लामो समयदेखि मह बिक्री नहुँदा चितवनका मौरी किसान मर्कामा परेका छन् । भारतबाट सस्तो मूल्यमा मह बिक्री भित्रिएको र प्रतिस्पर्धा गर्न नसक्दा उनीहरूको मह बिक्री नभएको हो । जसका कारण चितवनका मौरी पालकको मह अहिले बिक्री नभएर मौज्दातमा राख्नु परेको छ । खैरहनी नगरपालिका वडा नम्बर ११ का श्यामबहादुर तामाङले अहिले मह बिक्री नभएर ५० वटा बाल्टिनमा भण्डारण गर्नु परेको बताउनुभयो । ‘यी मह उत्पादन गरेको करिब ६ महिना भइसक्यो । बिक्री नै छैन । नत मूल्य नै छ ।’ उहाँले भन्नुभयो ।
नेपाली मह महँगो र उपभोक्ताले गुणस्तर चिन्न नसक्दा नेपाली महले बजार पाउन नसकेको हो ।
अघिल्लो बर्ष महको बिक्री राम्रै भएपनि यसबर्ष मह बिक्री नभएको उहाँले गुनासो गर्नुभयो । उहाँले ८० वटा घारमा मौरीपालन गर्नुभएको छ । चिउरी र तोरीको सिजनमा उहाँले मह उत्पादन गर्नुभएको हो । ५० वटा बाल्टिनमा ३० किलोका दरले मह मौज्दात रहेको उहाँले बताउनुभयो ।

कोरोनाको समयमा महको उपभोग हुनुपर्छ भन्ने सन्देश जाँदा र भारतीय मह बिक्री कम आयात हुँदा माग बढेको थियो । हाल थोक मह प्रतिकिलो ३५० रुपैयाँमा बिक्री गर्न खोजिए पनि कसैले खरिद नगरेको उनले बताए । महको खुद्रा मूल्य प्रतिकिलो ६०० रुपैंया सम्म बिक्री हुने गरेको छ । उहाँको मात्रै मह मौज्दात बसेको छैन चितवनका अधिकांश किसानको मह भण्डारण भएर बसेको छ ।
खैरहनी नगरपालिका वडा नम्बर १० का मौरी पालक किसान नवराज पन्तको समस्या पनि उस्तै छ । पन्तसहित १० जना किसानहरूले वनदेवी मौरीपालन समूह नै बनाएका छन् ।समूहमा आबद्ध किसानहरूको मह बिक्री नभएपछि दुई सयवटा बाल्टिनमा रहेका मह थन्किएका छन् । उनीहरूको समस्या पनि बजार र मूल्य नपाउनु नै हो । ‘अहिले उत्पादन कम छ बजार पनि छैन । बजार भएको बेला उत्पादन हुँदैन ।’ पन्तले भन्नुभयो ।

पछिल्लो समय मौरीले उत्पादन गर्ने फलफूल तथा बालीहरूमा विषादीको प्रयोग भएको कारण महको उत्पादकत्व समेत घटेको हो । मौरीको आहारा तथा चरन अभावको कारण पनि महको उत्पादन ३५ प्रतिशतले ह्रास आएको छ ।
नेपाल मौरी पालक महासङ्घका निवर्तमान अध्यक्ष शिव शर्मा स्वदेशमै गुणस्तरीय मह उत्पादन गर्दा पनि किसानले बजार नपाएको गुनासो गर्छन् । ‘कम भन्सार र कम मूल्यमा भारतीय मह भित्रिएको छ, उनले भने, स्वदेशी महको बजार छैन विदेशी मह छ्यापछ्याप्ती छ ।’ शर्माको मात्रै हाल २ मेट्रिक टन बढी मह मौज्दातमा रहेको उहाँले बताउनुभयो ।
राज्यले मौरी किसानलाई उत्पादन गर्न प्रोत्साहन गर्नुपर्ने र विदेशी महको भन्सार बढाउनु पर्ने र स्वदेशी महको बजार व्यवस्थापन उहाँको तर्क छ । शर्माले सरकारले मौरी पालक मैत्री नीति नबनाउँदा किसानले सधैँ यस्तो समस्या भोग्नु परेको बताउनुभयो ।
चितवनमा देशको कुल उत्पादनको ५५ प्रतिशत मह उत्पादन हुँदै आएको तथ्याङ्क छ । चितवन मह चितवनमा ३५ हजार वटा मौरीका घार रहेको महासङ्घले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्