तलब नपाएको भन्दै नरैनापुरमा शिक्षकहरूद्वारा विद्यालयमा तालाबन्दी

बाँके । बाँके जिल्लाको नरैनापुर गाउँपालिका भित्र अनुदानमा काम गर्दै आएका शिक्षकले तलब नपाएपछि आजदेखि विद्यालयमा तालाबन्दी गरेका छन् ।
उनीहरूले गाउँपालिका आफूहरूको माग प्रति गम्भीर नभएको बताउँदै बाध्य भएर विद्यालय बन्द गराउनु परेको गुनासो सुनाए । हामी विद्यालय बन्द गर्न चाहन्नौँ, पटक पटक तलबका लागि आग्रह गर्दासमेत सुनुवाई नभएपछि आन्दोलनको कार्यक्रम कडा पार्नु पर्यो, आन्दोलनमा सहभागी शिक्षक राधेश्याम यादवले भने, माघ महिना देखि शिक्षक र विद्यालय कर्मचारीले तलब पाएका छैनन् ।
गाउँपालिका भित्र कार्यरत एकसय बढी शिक्षकले गत माघ महिना देखि हाल सम्म तलब नपाएको गुनासो सहित बुधवार २४ घण्टा भित्र तलब उपलब्ध गराउन अल्टिमेटम दिएका थिए सोही अनुसार उनीहरूले बिहीबार बिहान विद्यालय बन्द गरेका हुन् ।
हामी शिक्षकहरूको माग प्रति गम्भीर छौँ, उहाँहरूको तलबका लागि अहिले हामी छलफलमै छौँ, नरैनापुर शिक्षा शाखा प्रमुख कृष्ण कुमार थारुले भने, सकभर आजै शिक्षकहरूको समस्या समाधान हुन्छ, भोलीबाट पठन पाठन निरन्तर हुन्छ।








प्रतिक्रिया राख्नुहोस्