माइतीबाट एक लाख नल्याएको कारण आफ्नै श्रीमतीको हत्या गरेको माइतीको आरोप

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका वडा नं. ३ मा माइतीबाट एक लाख नल्याएको भन्दै अब्दुल साह फकिरले आफ्नै श्रीमती ईदा खातुनको हत्या गरेको माइती पक्षले आरोप लगाएको छ ।
ईदाको हत्यारालाई कारबाहीको माग गर्दै नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत फरदवामा मृतकका आफन्त तथा फरदवाका स्थानीयहरूले दोषीलाई कारबाहीको माग गर्दै बाटोमै पोष्टमार्टम गरेको शव राखेर प्रदर्शन गरेको छ । ईदाको हत्या गरेर ससुराली पक्षले शुक्रवार झुण्ड्याएर आत्महत्यामा परिणत गर्न खोजेको भन्दै आफन्त तथा स्थानीयहरू आक्रोशित भएर प्रदर्शन गरेको छ ।
केही दिन अघि मात्रै वैदेशिक रोजगारीमा जाँदै छु भन्दै गाउँमै बिहे गरेका अब्दुल आफ्नै श्रीमती ईदालाई माइती बाट एक लाख ल्याउन भनेको थियो, छोरीले आमा बुवा विपन्न छन्, पैसा छैन भन्दा अब्दुलले शारीरिक तथा मानसिक यातना दिने गरेको मृतककी आमा मरियम खातुनले बताउनुभयो । छोरी इदालाई जवाई अब्दुल, छोरीको ससुराबा हसन साह फकिर, सासु आमा ताजमुन खातुन र नन्द रैमुन खातुन मिली शुक्रबार निर्घात कुटपिट मुखमा कपडा घुसारेर मारेको मृतक ईदाकी आमा मरियमले बताउनुभयो ।
छोरीलाई मानसिक तथा शारीरिक यातना दिएपछि शुक्रबार बिहान गाउँमै पञ्चायती गरेर छोरीलाई ससुराली पठाए तर अपराह्न ३ बजे ५ वर्षीय नातिले आमालाई बुवाले मारेको भन्दै चिच्याउन थालेपछि घटना सार्वजनिक भएको मृतककी बुवा मंसुर साह फकिरले बताउनुभयो । आरोपित अब्दुलको छिमेकी कादमुन खातुनले ईदाको बिहे भएपछि नै अब्दुल लगायत उनको परिवारले ईदालाई निर्घात रुपमा कुटपिट तथा मानसिक यातना दिने गरेको बताउनुभयो । हामी शवलाई हेर्न जाँदा मृतक इदाको पुरै शरीरमा माटो लागेको थियो, मुखमा कपडा कोची कुटेको र मृत्यु भएपछि घरको छानोमा झुण्ड्याएको कादमुन खातुनले बताउनुभयो । मृतक ईदाको कुटपिट बाट हातको कुहिने, तथा छातीको हाड भाँचेको स्थानीय खातुनले बताउनुभयो ।
मृतककी छोरा ५ वर्षीय कमलेन साहले अमी (आमा) लाई अब्बा (बुवा) ले मुखमा कपडा ठुसी ठुसी कुटेपछि मृत्यु भएको बताए । आमा ढलेपछि अबोध बालक रुन थालेपछि ईदा मरेको खबर बाहिर आएको स्थानीयहरूले जानकारी दिए । आज फरदवामा यस्तो घटना घटेको छ, । फेरी अर्को छिमेकी तथा अन्य ग्रामीण क्षेत्रमा पनि यस्तो घटना घटने सक्ने भएको हुँदा यस्ता व्यक्तिलाई कडा कारबाही गर्नुपर्ने खुरसैद साह फकिरले भन्नुभयो । मृतक ईदाको दुई वटा छोरा छन् । ईदाको हत्या गरेको ती दुई छोराले प्रत्यक्ष हेरेको स्थानीयहरूले बताएका छन् ।
ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कुवरले घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको बताउनुभयो । शुक्रबार हामीलाई ६ बजे झुण्डिएर ईदाको मृत्यु भएको घटनाबारे जानकारी भएको थियो, त्यसपछि शवको पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा पठाएका छौँ, प्रहरी निरीक्षक कुवरले बताउनुभयो । घटना बारे अन्य अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक कुँवरले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्