तपाईँ सुन्दै हुनुहुन्छः

बुद्धको मावली देवदह क्षेत्रमा उत्खनन् शुरु, कोलीय गणराज्यको दरबार रहेको अनुमान

रुपन्देही । लुम्बिनी विकास कोषले बुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको रुपन्देहीको देवदहस्थित खयरडाँडामा उत्खनन शुरु गरेको छ । 

देवदह नगरपालिका वडा नं ९ स्थित घोडाहा खयरडाँडामा लामो समयदेखि दरबार क्षेत्रको भग्नावशेष रहेको भन्दै उत्खननका लागि स्थानीयहरूले आवाज उठाउँदै आएका थिए । 

आज कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेलले उत्खननको शुभारम्भ गर्नुभयो । देवदहका स्थानीय समेत रहनुभएका कोषाध्यक्ष भट्टराईले देवदहका स्थानीय र विभिन्न अभियान्ताहरुले दाबी गरेअनुसार देवदहको खोजीका लागि उत्खनन् महत्वपूर्ण बन्ने बताउनुभयो ।

उहाँले कोषले बौद्ध पुरातात्त्विक क्षेत्रहरूको उत्खनन र संरक्षणमा पुरातत्त्व महाशाखालाई बलियो बनाएर अभियान सञ्चालन गर्ने योजनामा रहेको बताउनुभयो । उहाँले देवदहको खोजीका लागि रुपन्देही र नवलपरासीका क्षेत्रहरूको पुरातात्त्विक उत्खनन् गर्नुपर्ने बताउँदै त्यसैका लागि कोषले उत्खनन् थालेको बताउनुभयो ।

“देवदह कुन हो, त्यसका लागि पुरातात्त्विक रुपमा पुष्टि हुन बाँकी छ, तर खयर डाँडा पुरातात्त्विक स्थल रहेकोमा कुनै शङ्का छैन”, उहाँले भन्नुभयो। उहाँले देवदह नगरभित्रका बैरीमाई, कन्यामाई र भवानीपुर बौद्धकालीन पुरातात्त्विक स्थलका रुपमा विगतको उत्खननले प्रमाणित गरेकाले त्यहाँको पुरातात्त्विक स्थलहरूको संरक्षण गर्दै पर्यटकीय आकर्षणको केन्द्र बनाउन नगरपालिकाले काम गर्नुपर्ने बताउनुभएको छ ।

देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेलले खयर डाँडा क्षेत्र नै कोलीय गणराज्यको राजधानीको दरबार क्षेत्र रहेको दाबी गर्नुभयो । उहाँले उत्तरतर्फ पुष्करणी दह, पश्चिमपट्टि रोहिणी नदी रहेकाले यही क्षेत्र नै देवदह भएको आफूहरूको विश्वास रहेको बताउँदै लुम्बिनी विकास कोषले खयरडाँडामा उत्खनन शुरु गरेर पुरातात्त्विक र बुद्धको मावली गाउँ देवदहको खोजीका लागि महत्वपूर्ण योगदान पु¥याउने सहयोग गरेको यो ।

लुम्बिनी विकास कोषका पुरातत्त्व महाशाखा प्रमुख हिमाल उप्रेतीको नेतृत्वमा ७ जनाको टोली उत्खननमा खटिएको छ । लामो समयदेखि स्थानीयहरूको माग रहेपनि विविध कारण हुन नसकेको उत्खनन् यो पटक शुरु गरिएको उप्रेतीले बताउनुभयो । स्थानीयहरूको दाबी अनुसार खयर डाँडा बुद्धको मावली कोलीय गणराज्यको राजधानी देवदहको दरबार क्षेत्र हो । पुरातात्त्विक रुपमा देवदहको पुष्टिका लागि उत्खननले महत्वपूर्ण प्रमाणहरू जुटाउने अपेक्षा गरिएको छ ।

आजदेखि शुरु भएको उत्खनन असार १५ गतेसम्म चल्नेछ । 

उत्खननमा पुरातत्त्व महाशाखाका प्रमुख उप्रेतीसहित नवराज अधिकारी, शुभेच्छा पोखरेल, निशा पन्थी, अम्बिका सुब्बासहितको टोली खटिएको छ । यसअघि कोषले बैरीमाई, कन्यामाई र पुरातत्त्व विभागले भवानीपुरमा उत्खनन गरेको थियो । 

कोषले यही आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार कपिलवस्तुको गोटिहवामा चैत २५ गतेदेखि जेठ ३ गतेसम्म उत्खनन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button