तपाईँ सुन्दै हुनुहुन्छः

गणतन्त्रले नेपालमा छोरीलाई पनि राष्ट्रप्रमुख बन्न सम्भव तुल्यायो : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै जनताको जीवन रूपान्तरणमा लाग्नु राजनीतिक र सञ्चार क्षेत्रको साझा दायित्व भएको बताउनुभएको छ । 

दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो, रेडियो सगरमाथाको २७ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले राजनीतिक र सञ्चार क्षेत्र दुवैको सहकार्यमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएकाले यसलाई संस्थागत गर्दै यसको माध्यमबाट जनताको जीवन रूपान्तरण गर्ने साझा दायित्व बाँकी रहेको बताउनुभएको हो ।

संघीय लोकतान्त्रिक गणतन्त्र उत्कृष्ट व्यवस्था भएको उल्लेख गर्दै उहाँले सत्ता सञ्चालकबाट हुने कमजोरीलाई देखाएर व्यवस्थामाथि प्रहार गर्ने प्रवृत्ति बढेको भन्दै यो गलत भएको बताउनुभयो । ‘कतिपय वृत्तबाट गणतन्त्रले के दियो भन्ने प्रश्न पनि उठाउन थालिएको छ’– मन्त्री शर्माले भन्नुभयो–  ‘म थोरै पुराना कुरा सम्झन चाहन्छु– हामीले महिला आन्दोलन सङ्गठित गर्दा विभिन्न देशका महिला नेताको नाम लिएर हामीले पनि नेपालमा त्यस्तै महिला नेता स्थापित गर्नुपर्छ भनेर प्रशिक्षित गर्थ्यौ तर त्यो बेलामा नेपालमा महिला पनि राष्ट्रप्रमुख बन्न सक्छन् भनेर कल्पना गर्ने स्थिति थिएन । आज जन्मने हरेक छोरीहरूले राष्ट्रप्रमुख, सभामुख, न्यायालय प्रमुख बन्ने सपना देख्न सक्छन्, यो गणतन्त्रको देन हो ।’

महिला मात्र होइन, दलित, जनजाति, मधेशी, मुस्लिमलगायत हिजो हेपिएका र दबाइएका समुदायको अहिले राजनीतिक र प्रशासनिक नेतृत्वमा जुनखाले सङ्ख्या बढिरहेको छ, त्यो पनि गणतन्त्रकै देन भएको उहाँले स्पष्ट गर्नुभयो । हिजो नागरिकले आफूलाई लागेको बोल्न लेख्न नपाउने अवस्थाबाट आज पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्थामा आइपुगेको चर्चा गर्दै मन्त्री शर्माले यो संघीय लोकतान्त्रिक गणतन्त्रकै कारण सम्भव भएको बताउनुभयो ।

हिजोको अत्याचारपूर्ण राजनीतिक र सामाजिक व्यवस्थाबारे आजका पुस्तालाई जस्ताको तस्तै सुनाएर पछाडि फर्कने होइन, अगाडिको बाटो देखाउने काम मिडियाले गर्नुपर्ने पनि उहाँले बताउनुभयो । ‘हामीलाई थाहा छ, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता राजनीतिक स्वतन्त्रताको प्रमुख अङ्ग हो । अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्दै मिडियाहरूले जनताका आवाज नीति निर्मातासम्म पुर्‍याउने र नीति निर्माताहरुले गरेका काम जनतासम्म लैजाने महत्वपूर्ण भूमिका निर्वाह गर्दछन्’- उहाँले भन्नुभयो- ‘जसले सजिलै आफ्नो आवाज सुनाउन सक्दैनन्, उनीहरूको आवाज बोल्ने काम मिडियाको हो । त्यसमा पनि अझ रेडियोहरूको पृथक् भूमिका छ । रेडियोहरूले जनताको आवाज सबैभन्दा धेरै बोल्छन् भन्ने आम विश्वास पनि छ ।’

प्रविधिको विकाससँगै सूचना प्रवाह गर्ने माध्यमको सङ्ख्यामा वृद्धि हुँदै गए पनि रेडियोप्रतिको विश्वसनीयता कम नभएको उल्लेख गर्दै उहाँले बरु प्रविधिको प्रयोग बढाउँदै रेडियो प्रसारणको दायरा पनि वृद्धि गर्ने अवसर प्राप्त बताउनुभयो । ‘हिजो रेडियो प्रसारणको पहुँच सानो क्षेत्रमा सीमित थियो तर आज देशको कुनै एउटा कुनाबाट प्रसारण हुने रेडियोहरू इन्टरनेट र मोबाइल एपको माध्यमबाट संसारभरि सुन्न सकिने स्थिति आएको छ’- मन्त्री शर्माले भन्नुभयो– ‘प्रविधिको विकासलाई अवसरको रुपमा प्रयोग गर्दै रेडियो डिजिटलाइजेसन गर्नुपर्ने ध्यान दिनुपर्ने बेला आएको छ । यसमा आवश्यक पर्ने नीति नियम पुनरावलोकन गरेर सहजीकरण गर्न सरकार तयार नै छ ।’

सो क्रममा मन्त्री शर्माले ९६ वर्षीय अग्रज पत्रकार भैरव रिसालसहित विभिन्न व्यक्तिलाई सम्मान पनि गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button