तपाईँ सुन्दै हुनुहुन्छः

संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली संशोधन मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली संशोधन मस्यौदा समिति गठन गरेको छ ।

बैठकमा सांसद देवेन्द्र पौडेलले “संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस्” भनी समितिमा रहनुहुने सदस्यहरूको नामावली सहित गर्नुभएको प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको हो । 

सांसद ईश्वरीदेवी न्यौपाने र सांसद योगेशकुमार भट्टराईले उक्त प्रस्तावको समर्थन गर्नुभएको थियो । नियमावली मस्यौदा समितिलाई ७ दिनको समयसिमा तोकिएको छ । 

यस्तै, बैठकले “भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का तर्फबाट खानेपानी मन्त्री महेन्द्र राय यादवले “भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी गर्नु भएको प्रस्तावलाई सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले ठगी तथा सङ्गठित अपराध सम्बन्धी मुद्दामा अनुसन्धानको क्रममा सांसद टोपबहादुर रायमाझीलाई आइतबार प्रहरीले काठमाडौँको बुढानीलकण्ठबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएको विषयमा संसदमा पत्र प्राप्त भएको सदनमा जानकारी गराउनुभयो । 

बैठकमा सभामुख घिमिरेले संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम जेठ ४ गतेको बैठकमा हुने ब्यहोरा समेत सदनलाई जानकारी गराउनुभयो । 

प्रतिनिधिसभाको अर्को बैठक जेठ ४ गते बिहीबार बिहान ११ः०० बजे बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button