तपाईँ सुन्दै हुनुहुन्छः

नक्कली भुटानी शरणार्थी प्रकरणलाई निष्कर्षमा पुर्‍याउन सांसदहरूको आग्रह 

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित सबै पक्षले सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । 

सभाको आकस्मिक समयमा बोल्ने अधिकांश सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगरी निष्कर्षमा पुर्‍याएर मात्रै छोड्नुपर्ने बताउनुभयो । 

सांसद ठाकुरप्रसाद गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले जानकारी नदिएसम्म संसद्को कामकारबाही अगाडि बढाउन नहुने बताउनुभयो । 

नक्कली भुटानी शरणार्थी प्रकरण जघन्य अपराध भएको र सभामुखले रुलिङ गर्दा पनि सरकारले संसद्लाई अझै सो विषयमा जानकारी नगराएकोमा आक्रोश समेत व्यक्त गर्नुभयो ।

सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न आग्रह गर्नु भएको छ ।

मानव तस्कर सहितको विषय अगाडि आएको भन्दै यसलाई विषयान्तर गर्न नहुने र सबै मिलेर यसलाई निष्कर्षमा पुर्‍याउनु पर्ने बताउनुभयो । 

सांसद दीपक गिरीले कांग्रेस सांसद सञ्जय गौतम ३ दिनदेखि बर्दियाको जब्दी पुलमुनी आमरण अनसनमा बस्नुभएको विषयमा संसद्लाई जानकारी गराउनुभएको छ । 

प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद गिरीले आफ्नो क्षेत्र र मुलुकबारे काम गराउन अनसनमा बस्नुपर्ने अवस्था आउनु दुखद भएको भन्दै सांसद गौतम १५ सूत्रीय माग राखेर जब्दी पुलमुनी आमरण अनसनमा बसेको जानकारी गराउनुभयो । 

बैठकमा सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य भ्रष्टाचार नभई देश द्रोह भएको सो प्रकरणका दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि सम्बन्धित सबै पक्षले सक्रियतापूर्वक ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button