तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडी मलेसिया प्रस्थान

भैरहवा । मे १२ देखि १४ तारिखसम्म सञ्चालन हुने १९ औँ अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा सहभागी हुन मलेसिया प्रस्थान गर्न लागेका खेलाडीहरूलाई बिदाई गरिएको छ । नेपाल वादोरियो कराते डो संघ लुम्बिनी प्रदेशले मङ्गलवार भैरहवामा एक कार्यक्रमकाबीच बिदाइ गरेको हो । 

प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै १३ जना सहभागी हुनेछन् । जसअन्तर्गत टिम प्रशिक्षकमा कमरुद्दीन अली, टिम व्यवस्थापकमा शोभाखर पन्थ, अफिसियलमा समी थापा शर्मा, खेलाडीहरूमा देव कुमार शाह, प्रशेष शाही, सन्यम कँडेल, आरोन शेरचन, रिदेश बस्याल, प्रसिद्धि शर्मा, वैशनभी वर्मा, आकृति कँडेल र समीक्षा सार्की रहेका छन् ।

बिदाइ तथा शुभकामना कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले विगतमा श्रीलङ्कामा भएको कराते प्रतियोगितामा पनि खेलाडीहरूले राम्रो खेल प्रदर्शन गरेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘खेलाडीको माध्यमबाट मुलुकको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार हुन्छ ।’

नेपाल कराते महासङ्घ लुम्बिनी प्रदेशका संरक्षक भरत बहादुर के.सी.ले नेपाल वादोरियो कराते डो संघ संघर्षकाबीच जन्मिएको बताउनुभयो। उनले खेलाडीहरूले श्रीलङ्कामा राम्रो खेल प्रदर्शन गरेझैँ मलेसियामा पनि गर्ने विश्वास व्यक्त गर्नुभयो।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले लुम्बिनीलाई खेल पर्यटनसँगसँगै लैजानुपर्ने सुझाव आइरहेको बताउनुभयो। उहाँले प्रतियोगितामा नेपालको सहभागिताले मुलुकको शिर उँचो राख्ने बताउनुभयो।

कार्यक्रममा नेपाल वादोरियो कराते डो संघ लुम्बिनी प्रदेशका अध्यक्ष जेनेश पन्थी, थारु कल्याणकारिणी सभा रुपन्देहीका अध्यक्ष सतिश कुमार चौधरी, लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्मा, नमस्ते एकेडेमीका प्राचार्य जिग्मे शेर्पालगायतले बोल्दै खेलाडीहरूलाई सफलताको शुभकामना दिनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button