तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँमा मध्यम वर्षा, अझै तीन दिन पानी पर्ने

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज अपराह्नपछि मध्यम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकामा ३१ मिलिमिटर वर्षा मापन गरिएको जनाएको छ ।

आज पोखरामा २३ दशमलव दुई मिलिमिटर, ताप्लेजुङमा २२ र लुम्लेमा १९ मिलिमिटर वर्षा भएको छ । महाशाखाका अनुसार ५० मिलिमिटर मध्यम र ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ ।

देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भएको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “देशका केही स्थानमा आज वर्षा भएको छ भने काठमाडौँ उपत्यका, पोखरा ताप्लेजुङ लगायत क्षेत्रमा धेरै वर्षा भएको छ ।”

काठमाडौँमा भारी वर्षासँगै सिंहदरबार वरिपरि न्यूप्लाजा, पुतलीसडक, जमल लगायत क्षेत्रको सडक जलमग्न भएका छन् । निरन्तरको वर्षाले सवारी आवागमनमा समेत केही व्यवधान भयो भने गन्तव्यमा पुग्ने सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ ।

अझै तीन दिन वर्षा
स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा वर्षा भएको महाशाखाले उल्लेख गरेको छ । अझै तीन दिन वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । प्रि–मनसुन पनि सक्रिय रहेकाले मेघगर्जन/चट्याङसहित वर्षा भएको र यो क्रम केही दिन जारी रहने मौसमविद् नगरकोटीको भनाइ छ ।

भोलि आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button