दूरसञ्चार सेवालाई सहज, सुलभ, गुणस्तरीय बनाउन जरुरी : मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दूरसञ्चार सेवालाई सहज, सुलभ, गुणस्तरीय बनाउन जरुरी रहेको बताउनुभएको छ ।
धनगढीमा आज सुदूरपश्चिम प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था र गुणस्तर विषयमा सेवा प्रदायक तथा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री शाहले शहरी क्षेत्रसँगै दुर्गम भेगमा समेत प्रभावकारी रुपमा दूरसञ्चार सेवा विस्तार गर्नु पर्नेमा जोड दिनुभयो ।
“दूरसञ्चार क्षेत्रमा विकास भएता पनि यस प्रदेशका दुर्गम क्षेत्रमा अहिले पनि इन्टरनेटको सेवा सुविधा पुग्न सकेको छैन”, मुख्यमन्त्री शाहले भन्नुभयो, “ती क्षेत्रका जनताले सहज रुपमा इन्टरनेट लगायतका सञ्चारको सुविधा पाउने गरि सेवा विस्तार गरिनुपर्छ ।” उहाँले दूरसञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार सहकार्य, समन्वय गर्न तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा आर्थिक मामिला मन्त्री नरेश कुमार शाही, प्रदेशका मुख्यसचिव नारायण प्रसाद शर्मा दुवाडी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम प्रसाद खनाल लगायतले धारणा राख्नुभएको थियो ।
कार्यक्रममा स्थानीय तहका प्रमुख, प्राधिकरणका कर्मचारी, सेवा प्रदायक संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्