सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक राजनीति, आर्थिक तथा पूर्वाधार विकास र जनजीविकाका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
सांसदहरुले मुलुकलाई आर्थिक रुपमा अप्ठ्यारो परेको समयमा एक अर्कालाई दोष थुपार्ने भन्दा पनि समस्या समाधान गर्ने तर्फ सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।
उहाँहरूले पुँजीगत खर्च कटौती भन्दा समस्या समाधानका लागि सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर वैकल्पिक उपायहरूको खोजी गर्नु पर्ने बताउनुभयो ।
सांसदहरुले मुलुकको विकास र आर्थिक समृद्धिका लागि निर्माणाधीन ठूला आयोजना समयमा नै पुरा गर्ने तर्फ लाग्नु पर्ने, आर्थिक गतिविधि चलायमान गर्ने र राजस्व सङ्कलन बढाउने खालका गतिविधि बढाउने तर्फ सरकारले ध्यान दिनु पर्ने बताउनु भयो ।
सांसदहरुले सरकार नीति तथा कार्यक्रम र बजेट बनाउने क्रममा रहेकाले उत्पादन बढाउने र दिगो विकास गर्ने खालका कार्यक्रममा ध्यान दिनुपर्ने भन्दै बजेट छरिने गरि कार्यक्रम ल्याउन नहुने तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरूले देशको विभिन्न भागमा भएको आगलागीबाट पीडित बनेकाहरूलाई समयमा नै क्षतिपूर्ति उपलब्ध गराउन र भूकम्प गएको आठ वर्ष पुग्दासमेत भूकम्प पीडितले राहत पाउन नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भयो ।
नेपालको आकाश सुरक्षित नरहेको विभिन्न घटनाक्रमहरूले देखाएको भन्दै नियामक निकाय र व्यवस्थापकीय निकाय एउटै हुँदा समस्या भइरहेकाले समस्याको समाधानका लागि समयमा नै ध्यान दिन सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनु भयो ।
बैठकमा सांसदहरूले पुराना र सार्वजनिक पुस्तकालयहरूको संरक्षण गर्न तत्काल कानुन बनाउनु पर्ने, स्वास्थ्य बिमा कार्यक्रमलाई विस्तार गर्न सरकारले ढिलाइ गर्न नहुने र देशका विभिन्न भागमा निर्माणाधीन सडक समयमा नै सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।
बैठकमा आकस्मिक समय, विशेष समय र शुन्य समयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्