भद्रपुरमा आदिवासी राजवंशी भाषिक सांस्कृतिक सङ्ग्रहालय बन्ने

भद्रपुर, झापा । झापाको सदरमुकाम रहेको भद्रपुरमा आदिवासी राजवंशी भाषिक सांस्कृतिक सङ्ग्रहालय निर्माण हुने भएको छ ।
भद्रपुर– ६ महेशपुरमा ७ कट्ठा क्षेत्रफलमा ५ करोड बढी लगानीमा पूर्वी तराईका आदिवासी राजवंशी समुदायको सम्पूर्ण पहिचान झल्कने गरी सङ्ग्रहालय निर्माण गर्ने लक्ष्यका साथ आइतबार सिरुवा पर्वको अवसर पारेर भवनको शिलान्यास गरिएको हो ।
भद्रपुर नगरपालिकाले प्रदान गरेको २० लाख रुपैयाँबाट पहिलो चरणको काम थालिएको सङ्ग्रहालयको शिलान्यास भद्रपुर नगरप्रमुख गणेश पोखरेलले गर्नुभएको थियो ।
भद्रपुर नगरपालिकाभित्र राजवंशी समुदायका विभिन्न संस्थाको साझा नेतृत्व गरिरहेको आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा पहिलो चरणको निर्माण कार्य थालनी गर्न लागिएको जानकारी दिइएको थियो ।
अध्यक्ष राजवंशीले सङ्ग्रहालयमा राजवंशी जातिको पहिचानका रूपमा रहेका तर लोप भइसकेका, लोप हुन लागेका चुवारी घर, बंगला घरदेखि भेषभुषा, रहनसहन, संस्कार संस्कृतिसम्मका विविध पहिचान संग्रहित हुने बताइएको छ ।
कोशी प्रदेशकै आकर्षक सङ्ग्रहालय बनाउन ५ करोड बढी खर्च लाग्ने बताइएको छ ।
५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सङ्ग्रहालयका लागि स्थानीय, प्रदेश र संघीय सरकारलगायत विभिन्न दाताबाट स्रोत जुटाइने जनाइएको छ ।







प्रतिक्रिया राख्नुहोस्