भौतिक विकास र सेवा प्रवाहमा अब्बल बन्दै तातोपानी गाउँपालिका

जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये तातोपानी गाउँपालिका सेवा प्रवाहसँगै भौतिक विकासमा फड्को मारेको छ । कर्णालीका ७९ वटै स्थानीय तहमै पहिलो जनप्रतिनिधि र कर्मचारीबीच कार्यसम्पादन सम्झौता गरेको थियो । वैशाख मसान्तसम्म पालिकाका सबै योजना निर्माण र भुक्तानी गरिसक्ने लक्ष्य अनुसार तातोपानीले भौतिक विकासमा फड्को मारेको हो ।
मङ्गलवार सम्पन्न दोस्रो चौमासिक समीक्षा तथा सार्वजनिक सुनुवाइमा प्रस्तुत प्रगति प्रतिवेदन अनुसार तातोपानीले दोस्रो चौमासिकमै ६० प्रतिशत बढी योजना सम्पन्न गरेको छ । पालिकाका कुल १ सय ६२ वटा योजना रहेकोमा दोस्रो चौमासिक सम्म ६१ योजना सम्पन्न भइसकेको सव–इन्जिनियर कृष्णहरि अधिकारीले बताउनुभयो । उहाँका अनुसार सम्पन्न भएका ६१ योजना मध्य ३४ योजना भुक्तानी समेत भइसकेको छ । भने २७ योजना भुक्तानी प्रक्रियामा छन् ।
उहाँले भन्नुभयो,“योजनागत हिसाबमा ६० प्रतिशत बढी भौतिक प्रगति हासिल गरेका छौ । काम सम्पन्न भइसकेका तर उपभोक्ता भुक्तानी लिन नआएकोले पनि वित्तीय प्रगति काम देखिन सक्छ । तर जुन गत आव भन्दा धेरै बढिनै हो । तथापि, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका विद्यालय भवन निर्माण दुर्तगतीमा हुन सकेका छैनन् ।”
पालिकाका १३२, ठेक्काबाट सञ्चालित १०, प्रदेशका १९ र सङ्घीय सरकारको १ वटा गरी जम्मा १ सय ६२ योजना रहेकोमा ठेक्का र प्रदेशका ठुला योजना बाहेक पालिकाका सबै योजना वैशाख मसान्तमै सकिने सव–इन्जिनियर अधिकारीको भनाई छ । ८ वटा वडा रहेको तातोपानीमा ८ नम्बर वडा ताम्ती टोप्ला क्षेत्रका मात्रै ७० प्रतिशत योजना सम्पन्न भइसकेका छन् ।
पुँजीगत खर्च बढाउन,असारे विकासको अन्त्य गर्न कार्यसम्पादन सम्झौता भएकोमा वैशाख मसान्तमै योजना निर्माण सक्ने उद्देश्य अनुरुप जनप्रतिनिधि,कर्मचारी सबै खटिँदा दोस्रो चौमासिकमा तातोपानीले भौतिक विकासमा जिल्लामै अब्बलता देखाएको तातोपानीका प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले बताउनुभयो ।
तातोपानी गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिक अर्थात् आठ महिनामा कुल पुँजीगत बजेटको २३ प्रतिशत खर्च गरेको छ । चालु आवको फागुन मसान्तसम्म पालिकाको विकास खर्च २३.५६ प्रतिशत भएको हो ।

तातोपानीमा चालु आवमा पुँजीगत तर्फ कुल २६ करोड ९२ लाख ३३ हजार २२५ रुपैयाँ विनियोजन गरिएको थियो । जसमा आठ महिनामा ६ करोड ३४ लाख ३८ हजार ५०२ रुपैयाँ अर्थात् २३.५६ प्रतिशत वित्तीय प्रगति भएको तातोपानी गाउँपालिकाका लेखापाल शिवराज न्यौपानले बताउनुभयो । उनका अनुसार चालु खर्च भने ४६ प्रतिशत भएको छ ।
उहाँले भने,“योजना सम्पन्न भएको तुलनामा भुक्तानी कम देखिन्छ । काम सम्पन्न भई अनुगमन समेत भइसकेका योजनाको भुक्तानी लिन उपभोक्ता नआउँदा विकास खर्च कम देखिएको हो । यद्यपि, नियमित भुक्तानीको काम भइरहेको छ । वैशाख सम्म योजना निर्माण र भुक्तानी सक्ने लक्ष्य अनुसार नै काम भइरहेको छ ।”
मङ्गलवार सम्पन्न तातोपानीको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइमा नागरिक अगुवा, पत्रकार, दलहरूका प्रतिनिधिहरूले तातोपानीलाई समृद्ध बनाउन आवश्यकतामुखी योजना वितरण, अनुगमन निरीक्षण, छिटो छरितो सेवा प्रवाह गर्न र गुनासो सुनुवाइलाई प्रभावकारी बनाउन सुझाव दिएका छन् ।
तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले भौतिक विकाससँगै पालिकाको सेवा प्रवाह,गुनासो सुनुवाई लगायतका कामलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता गर्नुभयो । सार्वजनिक सुनुवाइमा उठेका प्रश्न गुनासालाई आगामी नीतिमा समेटी सम्बोधन गरिने उल्लेख गर्नुभयो ।
महिला सशक्तीकरण,उद्यमशीलता,न्याय सम्पादनको कार्यलाई प्राथमिकता दिएको उपाध्यक्ष रेवती रावलले बताइन् । पाँच वर्षमा महिला उद्यम शीलताका क्षेत्रमा उल्लेखीय कार्य हुने उनको दाबी छ । सूचनाको हकको प्रत्याभूति दिलाउन,सुशासन पारदर्शीता कायम गर्न र नागरिकका गुनासा सुन्न रहेका चार महिनामा समीक्षा र सार्वजनिक सुनुवाई गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत तिर्थ कठायतले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्