तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलमा धार्मिक सद्भाव कायम राख्न सबै एकजुट हुने प्रतिबद्धता

बुटवल । बुटवल उपमहानगरपालिकामा धार्मिक सङ्घ संस्थाका अगुवाहरूले धार्मिक सद्भाव कायम राख्न सबै एकजुट हुने प्रतिबद्धता जनाएका छन् ।

सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न धार्मिक सङ्घसंस्थाका अगुवाहरूसँग आज भएको छलफलमा सहभागीले धार्मिक सद्भावपूर्ण सहरका रूपमा बुटवल रहेको भन्दै यसलाई एउटै छातामुनि राखेर समान व्यवहार गर्ने नीति ल्याउन सुझाव दिएका छन् ।

बुटवल उपमहानगरपालिकाले सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्ने उद्देश्यले आज धार्मिक सङ्घसंस्थाका अगुवासँगको छलफलमा सहभागी वक्ताले धार्मिक क्षेत्रलाई उपमहानगरपालिकाले दर्ता गरेर सँगसँगै लैजानुपर्ने बताएका हुन् ।

कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई धार्मिक सद्भाव र धार्मिक पर्यटकीयस्थलका रूपमा समेत विकास गर्ने योजना रहेकाले त्यसैअनुसार मठमन्दिर, बिहार, गुम्बा, मस्जिद, चर्चलगायतका धार्मिकस्थल बनाउने गरी तयार हुन सङ्घसंस्थाका अध्यक्षलाई आग्रह गर्नुभयो ।

उहाँले बुटवल ऐतिहासिक र धार्मिक हिसाबले अगुवा सहर भएकाले धार्मिक विश्रामस्थलका रूपमा विकास गर्नका लागि धार्मिक सङ्घसंस्थाले अगुवाइ गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बुटवलभित्रका मठमन्दिर, धाम, बिहार, गुम्बा, मस्जिद, चर्चलगायतका धार्मिक सङ्घसंस्थाका अध्यक्ष तथा प्रतिनिधि सहभागी थिए । बुटवललाई देशकै अगुवा सहर बनाउनका लागि योजना निर्माण गर्दै सेवा प्रवाहलगायतका विषयमा विज्ञको रायसुझाव लिने अभियानको थालनी गरेको हो ।

क्षेत्रगत सुझाव सङ्कलन तथा समन्वयसम्बन्धी कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासँग छलफल गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button