तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजको ठाकुरराम क्याम्पसको स्ववियु निर्वाचन ज्येष्ठ १३ गते गर्ने सहमति

बीरगंज । बीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन आगामी जेठ १३ गते गर्ने सर्वदलीय सहमति भएको छ ।

चैत ८ गते तय गरिएको स्ववियू निर्वाचन विद्यार्थी सङ्गठनहरूको आपसी विवादको कारण हुन नसक्ने ठहर गरी सर्वदलीय बैठकले घोषित निर्वाचन स्थगित गरेर आगामी ज्येष्ठ १३ गते गर्ने सहमति गरेको हो ।

निर्वाचन समितिले दुई÷दुई पटक प्रकाशन गरेको मतदाता नामावलीको विषयलाई लिएर विद्यार्थी संघ सङ्गठनले विवाद गर्दै क्याम्पसमा आगजनी र तालाबन्दी समेत गरेपछि स्ववियु निर्वाचन साढे दुई महिना पछि धकेलिएको हो । 

देशभरका क्याम्पसमा चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचन ठाकुरराम क्याम्पसमा भने चैत ८ गते गर्ने गरि ठाकुर राम क्याम्पसको स्ववियू निर्वाचन समितिले गत फागुन २९ गते निर्वाचन कार्यतालिका सार्वजनिक गरेको भए पनि विद्यार्थी सङ्गठनको विवादका कारण ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचन ८ गते हुन नसक्ने अवस्था सृजना भएपछि आगामी जेठ १३ गते गर्ने सहमति क्याम्पस प्रशासन र राजनीतिक दलहरूले गरेको नेपाली कांग्रेस पर्साका सहसचिव एवं नेविसंघका स्ववियू निर्वाचन समितिका संयोजक नवीन सिंहले जानकारी दिनुभयो । 

जिल्ला प्रशासन कार्यालय पर्सामा आज दोस्रो पटक बसेको सर्वपक्षीय बैठकमा विद्यार्थी सङ्गठनको विवादका कारण चैत ८ गते स्ववियु निर्वाचन गर्न सक्ने अवस्था नदेखिएको र चैत १२ गतेदेखि विभिन्न संकायको परीक्षा सुरु हुने भएका कारण अब जेठ १३ गते निर्वाचन गर्ने सहमति भएको बैठकमा सहभागी जनता समाजवादी पार्टी (जसपा) का जिल्ला सचिव तबरेज आलमले बताउनुभयो ।  

सहमति अनुसार, अब निर्वाचन समितिले जेठ १३ मा निर्वाचन गर्ने गरि सूचना जारी गर्ने क्याम्पस प्रमुख डा.उमेश चौरसियाले बताउनुभयो । 

सर्वपक्षीय बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रहरी उपरिक्षक कोमल शाह, क्याम्पस प्रमुख डा.चौरसिया, निर्वाचन अधिकृत रोशन लामिछाने, नेपाली कांग्रेसका जिल्ला सहसचिव नवीन सिंह, जसपाका जिल्ला सचिव तबरेज अहमद, नेकपा एमालेका नेता शिवजी गुप्ता, नेकपा माओवादी केन्द्रका नेता प्रभाकर गुप्तालगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button