तपाईँ सुन्दै हुनुहुन्छः

पाँचपोखरी टी–२० क्रिकेट : उद्घाटन खेलमा भोताङ विजयी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा पाँचपोखरी क्रिकेट क्लबको व्यवस्थापनमा शनिवारबाट सुरु भएको पाँचौँ संस्करणको पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा पाँचपोखरी भोताङ क्रिकेट टिमले विजयी सुरुवात गरेको छ ।

काठमाडौँको मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सञ्चालित उद्घाटन खेलमा मेलम्ची नगरपालिकालाई ७२ रनले पराजित गर्दै उसले सुखद सुरुवात गरेको हो । खेलको म्यान अफ दी म्याच भोताङ क्रिकेट टिमका दावा लामा भए ।

फागुन २७ देखि चैत ३ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन गर्दै पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले आफ्नो पालिका तथा सिन्धुपाल्चोकबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । प्रतियोगितामा सिन्धुपाल्चोकका सात वटा टोलीको सहभागिता छ ।

प्रतियोगिताको विजेताले रू ८० हजार र उपविजेताले रू ५० हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । साथै ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए) ले यस प्रतियोगितामा सफलता हासिल गर्ने सर्वोत्कृष्ट खेलाडीलाई एक वर्ष र उत्कृष्ट बलर एवं उत्कृष्ट ब्याटरलाई ६ महिना निःशुल्क क्रिकेट प्रशिक्षण प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button