उपराष्ट्रपतिमा सत्ता गठबन्धनका तर्फबाट जसपाका यादवको उम्मेदवारी दर्ता

काठमाडौँ । सत्ता गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का सांसद रामसहाय प्रसाद यादवले उपराष्ट्रपतिको निर्वाचनको लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
नयाँ बानेश्वरको ल्होत्से हलस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज जसपाका सांसद यादवले जसपाको निर्णयअनुसार मनोनयन दर्ता गराउनुभएको हो ।
सांसद यादवको प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी रहनुभएको छ भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी रहनुभएको छ ।
सांसद यादवको उम्मेदवारी दिन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदहरू सहभागी हुनु भएको छ ।
जसपाले कुनै औपचारिक निर्णय नगरे पनि राष्ट्रियसभा सदस्य प्रमिला यादवले पनि उम्मेदवारी दिनुहुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेत बताउनुभयो ।
यस्तै, नेकपा एमालेबाट नेतृ अष्टलक्ष्मी शाक्यले राष्ट्रपतिको पदमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उम्मेदवारी दर्तापछि नेतृ शाक्यले आफू एक्लै छु भन्ने नलागेको र लोकतन्त्रलाई बलियो बनाउन सबैले सोच्नुपर्ने बताउनुभयो ।
नेकपा एमालेको आजै बसेको सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
शाक्यको प्रस्तावकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छवि लाल विश्वकर्मा गोकर्ण विष्ट र रघुवीर महासेठ रहनुभएको छ भने समर्थकमा महेश बर्तौला, कृष्णगोपाल श्रेष्ठ, यशोदा रिमाल, तुलसा दाहाल र भगवती न्यौपाने रहनुभएको छ ।
निर्वाचन आयोगका अनुसार आज उम्मेदवारीको मनोनयन गर्ने र आगामी चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्