तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहलाई माओवादीले विश्वासको मत दिने 

धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने निर्णय गरेको छ । 

धनगढीमा आज बसेको नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने औपचारिक निर्णय गरेको हो । 

पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य रमेश धामीले केन्द्रको निर्देशनपछि संसदीय दलको बैठकले प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेको बताउनुभयो । 

मुख्यमन्त्री शाहले आज दिउसो १ः०० बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । 

यसैगरी, नागरिक उन्मुक्ति पार्टीले समेत सरकारलाई विश्वासको मत दिने बताइएको छ । 

यस्तै सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री कमलबहादुर शाहका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । संसदीय दलका नेता दीर्घ सोडारीको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको सचिवालय सहयोगी लक्ष्मी जैशीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button