पाँचौँ मेयर गोल्डकप महिला फुटबल : उपाधि भैसिपंखालाई
भोजपुर । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा भएको पाँचौँ मेयर गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि भोजपुर नगरपालिका वडा नम्बर १०, भैसिपंखाले जितेको छ ।
रोयल स्पोर्टिङ क्लब दमकलाई १ गोलले हराउँदै भैसिपंखा विजेता बनेको हो । खेलको ४६ औँ मिनेटमा भैसिपंखाकी आरती भुजेलले गरेको १ मात्र गोल निर्णायक बन्यो । प्रतियोगिताको म्यान अफ द म्याच र सर्वोत्कृष्ट खेलाडी भैसिपंखाकी आरती नै हुनुभयो ।

यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक रोयलकी रुपा थापा, उत्कृष्ट रक्षक भैसिपंखाका अनिषा राई, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर रोयलकी सोनु लिम्बु र सन्जु तामाङ हुनुभयो भने उत्कृष्ट प्रशिक्षक भैसिपंखाका प्रदीप राई हुनुभएको आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष सुवालले बताउनुभयो ।
भोजपुर जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा सञ्चालन भएको प्रतियोगितामा भोजपुर भित्र र बाहिरका गरी ७ वटा टिमको सहभागिता रहेको थियो । विजेताले एक लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ तथा उपविजेताले ५१ हजार पाँच सय ५५ रुपैयाँका साथमा ट्रफी प्राप्त गरेका छन् ।
प्रतियोगितामा भोजपुर नगरपालिका १०, द सेभेन यूथ क्लब धनकुटा, एन बी वाई एफसी सप्तरी, भोजपुर नगरपालिका ११, कन्काई झापा, रिमाचुङ्ग एजुकेशन एण्ड स्पोर्ट्स एकेडेमी र आर एसी दमक गरी ७ वटा टिमको सहभागिता रहेको जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेता तथा उपविजेतालाई प्रायोजक भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले लगायतले नगद तथा ट्रफी प्रदान गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्