सङ्घीयतालाई संस्थागत गर्नसके तराई मधेसको विकासमा कायापल्ट : अध्यक्ष यादव

बारा । जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र प्रसाद यादवले सङ्घीयतालाई संस्थागत गर्न सकेमात्र तराई मधेसको विकासमा कायापल्ट हुने कुरामा जोड दिनुभएको छ ।
बाराको करैयामाई गाउँपालिकास्थित उमजनमा तियर सिचाई आयोजनाको शिलान्यास गर्दै प्रमुख अतिथि समेत रहनु भएको अध्यक्ष यादवले सङ्घीयतालाई संस्थागत हुन नदिने चलखेल शुरु भएको भन्दै त्यस तर्फ सबैजना सजग र सचेत हुनुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो । तराई मधेसको विकासका लागि ठुला दलहरूले जहिले पनि आनाकानी गर्ने गरेको हुँदा विकासका लागि सबै मधेसी पार्टीहरूको एउटै मोर्चा बनाएर एकपल्ट फेरि क्रान्तिको बिगुल फुक्नुपर्ने वातावरणको सृजना नगरी नभई नहुने रहेको अध्यक्ष यादवले प्रष्ट पार्नुभयो ।
नेकपा माओवादीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीलाई धोका दिएको आरोप लगाउनुभयो । सहमति एक गर्ने काम अर्को गर्ने बताउँदै अध्यक्ष यादवले तराई मधेस केन्द्रित दलहरूलाई पाखा लगाउनु दुखद भएको जानकारी गराउनुभयो ।
सिचाई योजना निर्धारित समयमा गुणस्तर हिसाबले सम्पन्न गराउन सम्बन्धित ठेकेदारलाई आग्रह समेत गर्नुभएको थियो । कामकाज प्रभावकारी भए, नभएको बेला बखतमा निगरानी गर्न उपभोक्ता समितिको ध्यान जान जरुरी रहेको अध्यक्ष यादवले सुझाव दिनुभएको थियो ।
तियर सिचाई योजना उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न सो शिलान्यास कार्यक्रममा बारा निर्वाचन क्षेत्र नम्बर २ का सङ्घीय सांसद रामसहाय यादव, जनता समाजवादी पार्टीका मधेस प्रदेशका अध्यक्ष रामबाबु कुमार यादव, करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादव, उपाध्यक्ष सुनैना कुमारी चौधरी, नेकपा एसका जिल्ला अध्यक्ष बिजेन्द्र चौधरी, वडाअध्यक्ष सोनालाल साह, कार्यपालिका सदस्य सुरेन्द्र साह, दिपक पासवान लगायतकाले आफ्नो बिचार ब्यक्त गर्नुभएको थियो ।
उपभाेक्ता समितिका सचिव रुपनारायण प्रसाद यादवको स्वागतमा सम्पन्न सो कार्यक्रमको सञ्चालन कृष्णमणि चौधरीले गर्नुभएको थियो । मधेस प्रदेश सरकारको करिब २१ करोडको लागतमा निर्माण हुने सो सिचाई योजनाबाट सो क्षेत्रका करिब १२ सय बिगाहा खेतीयोग्य जमिनमा सिचाई हुने जानकारी गराएको थियो । छठिया निर्माण सेवा बाराले सो ठेक्का सकार गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्