तपाईँ सुन्दै हुनुहुन्छः

बीमा अभिकर्ता व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमाका बारेमा राम्रो ज्ञान भएको, परीक्षाबाट योग्य देखिएको र बिमाप्रतिको जिम्मेवारी बोध गरेको व्यक्तिलाई मात्र बीमा अभिकर्ताका रूपमा छनौट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिनुभएको छ ।

नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज आयोजित बीमा अभिकर्ता व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिलवालले बिमाप्रति प्रतिबद्ध, दक्ष र योग्य बीमा अभिकर्ताबाट बीमा व्यवसायको गुणस्तर र बिमाप्रतिको विश्वास बढ्ने तथा कम्पनी पनि सशक्त हुने भएकाले बीमा अभिकर्ता इजाजत पत्रका लागि सिफारिस गर्दा यी विषयमा गम्भीर हुन निर्देशन दिनुभयो ।

अध्यक्ष सिलवालले भन्नुभयो, “एउटा बीमकको बीमा अभिकर्ताले अर्को समान किसिमको बीमकको बीमा अभिकर्ता भएर काम गर्न नपाउने कानूनी व्यवस्था छ । अब बीमा कम्पनीले आफ्नो बीमा अभिकर्ता अर्को कम्पनीको बीमा अभिकर्ता छैन भन्ने निश्चित गर्नुपर्छ । बीमा अभिकर्ताको जिम्मा कम्पनीले लिनुपर्छ । बीमा अभिकर्ता हुन तोकिएको परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ ।”

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले विगतका कमी कमजोरी नदोहोरिने गरी सङ्ख्याभन्दा गुणस्तरलाई ध्यान दिएर काम गर्न तथा इजाजतपत्र नलिएकालाई बीमा अभिकर्ताका रूपमा काम नगर्न/नगराउन बीमा कम्पनीहरूलाई निर्देशन दिनुभयो ।

नेपाल बीमा प्राधिकरणका उपनिर्देशक शाम्भराज लामिछानेले बीमकले बीमा अभिकर्ता छनौट गर्दा अन्य बीमा कम्पनीले आफूसँग उक्त बीमा अभिकर्ताको कुनै लेनदेन नभएको मन्जुरीनामा दिएको वा बीमा अभिकर्ता स्वयम्ले अन्य बीमा कम्पनीमा आफ्नो कुनै लेनदेन बाँकी नरहेको कबुलियतनामा गरेको हुनुपर्ने व्यवस्था रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक शम्भुप्रसाद मिश्रले बीमा अभिकर्ता व्यवस्थापनका लागि प्राधिकरणबाट सञ्चालनमा ल्याउन लागिएको अनलाइन प्रणालीका बारेमा प्रस्तुती गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी र निर्देशक पूजन ढुङ्गेल (अधिकारी) सहित जीवन बीमा कम्पनीहरूका बीमा अभिकर्ता शाखाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button