कलैया उपमनपाद्वारा १ अर्ब ९६ करोडको बजेट सार्वजनिक
वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ९६ करोड ७३ लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

कलैया उपमहानगरपालिकाको १७ औँ नगरसभाको अधिवेशनमा आज प्रमुख प्रशासकीय अधिकृत रेशमलाल कँडेलले आगामी आर्थिक वर्षको आय–व्यय विवरणसहित बजेट प्रस्तुत गर्नुभयो । सो अवसरमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।
नगर सभालाई सम्बोधन गर्दै कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साहले कृषि र पूर्वाधार विकासलाई नगरको समृद्धिको मुख्य आधार बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक गरिएको बताउनुभयो ।
उहाँले सीमित स्रोत–साधनको अधिकतम उपयोग गर्दै जनतामुखी, पारदर्शी र उत्तरदायी स्थानीय शासनमार्फत नगरवासीलाई गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उपप्रमुख रोशन प्रवीणले आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रमले नगरको समग्र विकासलाई गति दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले बजेटले आर्थिक गतिविधि विस्तार, पूर्वाधार निर्माण तथा आधारभूत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने दाबी गर्नुभयो ।
नगर प्रमुख साहको अध्यक्षतामा सम्पन्न नगरसभामा उपमहानगरपालिकाका २७ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य, कर्मचारी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
कलैया उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा कृषि उत्पादन वृद्धि, सडक तथा भौतिक पूर्वाधार निर्माण, सेवा प्रवाहमा सुधार र स्थानीय आर्थिक विकासलाई विशेष प्राथमिकताका साथ अघि बढाउने जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्