निर्णायक तहमा महिलाहरूको अर्थपूर्ण सहभागितामा जोड
काठमाडौँ । निर्णायक तहमा महिलाहरूको अर्थपूर्ण सहभागिता आवश्यक रहेकोमा महिला नेतृ तथा अधिकारकर्मीहरूले जोड दिनुभएको छ ।

संसदीय अध्ययन तथा विकास संस्थापनाले आज काठमाडौँमा आयोजना गरेको ‘सार्वजनिक पदमा महिला सहभागिता’ विषयक कार्यक्रममा संस्थापनाका उपाध्यक्ष दिपकुमार उपाध्यायले महिलाको अनुभव, ज्ञान, सीप र दक्षताको अधिकतम उपयोग गरेर सबै क्षेत्रमा महिला सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभयो । उहाँले महिलाको अर्थपूर्ण सहभागिताले मात्र लैङ्गिक विभेद अन्त्य हुने उल्लेख गर्नुभयो ।
सांसद कमला पन्तले प्रत्यक्ष निर्वाचनमा एक तिहाइ महिलाले प्रतिस्पर्धा गर्न पाउनु पर्ने कानूनी व्यवस्था आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले महिला हिंसाको विषयमा महिलाले मात्र नभई सबैले सामूहिक आवज उठाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद बिन्दा पाण्डेले विश्व महिला आन्दोलनको तुलनामा नेपाली महिला आन्दोलनले छोटो समयमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले महिलालाई अधिकार दिने सवालमा भएका प्रतिबद्धता कार्यान्वयनमा भने समस्या रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित महिला सांसद एवं अधिकारकर्मीहरूको सहभागिता थियो ।







प्रतिक्रिया राख्नुहोस्