तपाईँ सुन्दै हुनुहुन्छः

नवलपुरमा देखिए ४३ प्रजातिका चरा 

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा यस वर्ष ४३ प्रजातिका चरा देखा परेको छ । 

हालै सम्पन्न चरा गणनाको तथ्याङ्क अनुसार यस वर्ष जिल्लामा ४३ प्रजातिका चरा देखा परेको पश्चिम सेक्टर चितवन राष्ट्रिय निकुञ्जका पक्षी गणना संयोजक डिबी चौधरीले जानकारी दिनुभयो । 

यस विगतमा देखिए पनि गत वर्षको गणनामा देखा नपरेको राज सुडिया, जुरे हुटिट्याउँ, बेल्चा ठुडे हाँस, जुरे हाँस र ध्यासेसिम कुखुरा यसपालि देखा परेको चौधरीले बताउनुभयो । जसमध्ये राज सुडिया चितवनतर्फ देखिरहेको तर नवलपुर तर्फ आजसम्मको गणनामा देखिएको थिएन । यस वर्ष देखा परेको चौधरीले बताउनुभयो । 

नवलपुर तर्फको नारायणी नदीमा धेरै मात्रामा देखिने चरा चखेवा हो । गत वर्षको तुलनामा यो चरा थोरै मात्रै वृद्धि भएको पाइएको चौधरीले बताउनुभयो । यसवर्ष चार हजार ५०५ भेटिएको छ । गत वर्ष  ४ हजार २७ भेटिएको थियो ।  

चरा गणनाको लागि जिल्लाको गैँडाकोट सिख्रौली देखि त्रिवेणीसम्म चरा रहेका क्षेत्रलाई चार भागमा  बाँडेर गणना गरिएको थियो । 

चरा गायकहरूको समूहले जलपंक्षीलाई टेलिस्कोप र बाइनाकुलर सहायताले गणना गर्ने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्ज, जटायु रेष्टुरेन्ट व्यवस्थापन समिति, सिबिएपियु, लामिचौर मध्यवर्ती उपभोक्ता समिति लगायत संरक्षणकर्मी र सरोकारवालाको उपस्थितमा चरा गणना गरिएको हो ।  

जलपंक्षीको सङ्ख्या, वासस्थानको अवस्था, वासस्थानमा समस्या छ, छैन, चराको गतिविधि बुझ्न र संरक्षणको लागि के गर्न सकिन्छ भन्ने विषयमा निष्कर्ष निकाल्नका लागि  नेपालमा प्रत्येक वर्ष गणना  हुँदै आएको  छ ।  

प्रत्येक वर्षको गणनाले पानीमा आश्रित चराहरू घट्दो क्रममा रहेको देखाएको संरक्षणकर्मी चौधरीको भनाई छ ।   विगत वर्षहरूको नतिजा हेर्दा पछिल्लो केही वर्षयता चराको सङ्ख्यामा कमी आउँदै गएको पाइएको उहाँले बताउनुभयो । 

चराको सङ्ख्यामा कमी आउनुमा नवलपुर तर्फ नदी सुक्दै जानु र चितवनतर्फ नदी धेरै भागमा बाँडिएका कारण चराको वासस्थानमा असर परेको  उहाँ बताउनुहुन्छ । नारायणी नदीमा बढ्दो प्रदूषण, बदलिँदो हावापानीका कारण पनि चराको सङ्ख्यामा कमी आउँदै गएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button