तपाईँ सुन्दै हुनुहुन्छः

शिरकालिन्जोरमा बिजुली पुगेपछि स्थानीय हर्षित

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १५ शिरकालिन्जोरमा वर्षौँदेखि टुकी बत्तीको साहारामा रात काट्दै आएका स्थानीय बिजुली पुगेपछि हर्षित भएका छन् ।  सुगम जिल्लाको दुर्गम भेग भनेर चिनिने सर्लाहीको शिरकालिन्जोरमा बिजुली बत्ती पुगे पछि ठुलो उपलब्धि भएको स्थानीयहरूको भनाइ छ ।

बिजुली बत्ती नहुँदा अँध्यारो त छँदै थियो । सामान्यतया मोबाइल चार्ज गर्न, टिभी हेर्न लगायतका बिजुलीबाट हुने काम गर्न स्थानीयलाई समस्या थियो । चुरे क्षेत्रमा बसोबास गर्ने उनीहरूमा अन्नबाली लगाउन वर्षा कुर्नुको विकल्प थिएन । वस्तिको तल्लो भाग भएर कालिन्जोर नदी बग्ने भए पनि त्यहाँको पानीको लाभ उनीहरूले बिजुली बत्ती नभएकै कारण लिन सकेका थिएनन् । जसको कारण उनीहरुलाई बिहान बेलुकीको छाक कसरी टार्ने भन्ने सम्मको चिन्ता थियो । बिजुली बत्ती बलेसँगै आफ्ना खेत बारीमा अन्न उत्पादन हुने र दुई छाक टार्न सजिलो हुने उनीहरूको विश्वास छ । “अव हामी खोलाको पानी पम्पिङ गरेर खेती गर्छौ,“एक स्थानीयले भने’ ।

लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारी र नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख सञ्जीव कुमार साहले बुधवार नयाँ जडान गरिएको ट्रान्सफर्मरमा बत्ती बालेर त्यहाँ विद्युत् सेवा शुभारम्भ गरेका हुन् ।

आफ्नो गाउँमा बिजुली बत्ती बलेपछि स्थानीय हर्षित भएका छन् । हर्षित स्थानीयले मेयर अधिकारी, वितरण केन्द्र प्रमुख साह र वडाध्यक्ष गोरख बललाई खादा, अबिर र माला लगाएर स्वागत गरेका छन् । विद्युत् विस्तारपछि आफूहरूको दैनिकीमा सहजता आएको स्थानीयले बताएका छन् । विद्युत् विस्तारपछि आफ्नो वडाका झण्डै ३ सय ५० घर परिवार लाभान्वित भएको वडाध्यक्ष बलले बताए ।

गत आर्थिक वर्षको प्रारम्भ देखिनै विद्युत् विस्तार थालिएको वडाध्यक्ष बलले बताए । वडामा ५ वटा २० केभीको ट्रान्सफर्मर जडान गरिएको छ । भौगोलिक विकटताको कारण वडाका सबै क्षेत्रमा अझै पनि विद्युत् विस्तार हुन सकेको छैन । अझै पनि बाहुनी डाँडा, फलाके, बादमारा, धापखर्क, माझखोला क्षेत्रमा विद्युत् विस्तार आवश्यक रहेको वडाध्यक्ष बलले बताए ।

लालबन्दी नगरपालिकाका प्रमुख (मेयर) वासुदेव अधिकारीले राज्यले मधेसका जिल्लामा पनि भौगोलिक विकटता छ भन्ने बुझ्नु पर्ने बताए । उनले लालबन्दी जिल्लाकै आर्थिक केन्द्र भए पनि भौगोलिक बिकटका कारण सोचेजस्तो विकास हुन नसकेको बताए । राज्यले यस्ता क्षेत्रको पहिचान गरि भौतिक पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । मेयर अधिकारीले अवसर र चुनौतीको मिलेर सामना गर्न विद्युत् प्राधिकरण र सरोकारवाला निकायलाई आग्रह गरे ।

लालबन्दी वितरण केन्द्रका प्रमुख साहले बिकट क्षेत्र भएकाले प्राधिकरणका कर्मचारीलाई त्यहाँ पुग्नै झण्डै २ घण्टा लाग्ने भएकाले कसरी सेवालाई निरन्तरता दिन सकिन्छ भन्ने चिन्ता लाग्ने गरेको बताए । उनले माग अनुसार क्षमता अभिवृद्धि गर्न प्राधिकरण तयार रहेको बताए ।

लालबन्दी नगरपालिकाको वडा नं.१५ जिल्लाको विकट चुरे क्षेत्र हो । यहाँ हिउँदमा मात्र खोलाको बाटो भएर यातायातका साधनहरू चल्ने गर्छन् । सडक पूर्वाधारको विकास हुन नसक्दा यहाँ नागरिक आर्थिक दृषिकोणले पछि परेका छन्,भने कयौँ नागरिकले समयमै उपचार पाउन नसकेकै कारण अकालमै ज्यान गुमाउन बाध्य भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button