यशोधरामा बाल सञ्जाल समूहलाई खेलकुद सामग्री वितरण

काठमाडौँ । कपिलवस्तु जिल्लको यशोधरा गाउँपालिका ३ नं. वडा कार्यालयले वडा भित्रका बाल सञ्जाल समूहहरूलाई खेलकुद सामग्रीहरु वितरण गरेको छ ।
वडा कार्यालय वसन्तपुरमा आज एक समारोहका बीच वडा अध्यक्ष सरिता त्रिपाठीले खेलकुद सामग्री बाल सञ्जाल समूहमा आबद्ध बालबालिकालाई हस्तान्तरण गर्नुभयो ।

वडा अध्यक्ष त्रिपाठीले बालबालिकाको विकासका लागि शिक्षासँगै खेलकुदको पनि उत्तिकै महत्त्व रहेकाले वडाले बालबालिका लाई प्रोत्साहनका लागि खेलकुद सामग्री वितरण गरेको बताउनुभयो ।

खेलकुद सामग्री प्राप्त गरेका बालबालिका निकै खुशी देखिएका थिए भने बालबालिकहरुले आगामी दिनमा पनि आफूहरूका लागि वडाले अझ प्रोत्साहनका कार्यक्रमहरू आयोजना गर्ने विश्वास रहेको बताएका थिए ।
कार्यक्रमको सहजीकरण वडा नं. ३ का बाल सहजकर्ता लवकुश पासवानले गर्नुभएको थियो ।

कार्यक्रममा वडा सदस्यहरु र वडाका कर्मचारीहरूसँगै बाल सञ्जालमा आबद्ध वडाका विभिन्न गाउँ–टोलका बालबालिकाहरूको उपस्थिति रहेको थियो ।

वडा कार्यालयले बालबालिकालाई प्रोत्साहन गर्न हरेक वर्ष नै खेलकुद सामग्री वितरण, सरसफाइ सम्बन्धी कार्यक्रम, हाजिरी जवाफ प्रतियोगिता, बालअधिकार सम्बन्धी छलफल लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको वडाका बाल सहजकर्ता लवकुश पासवानले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्