तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनमा छलफल

काठमाडौँ । सत्ता साझेदार दलहरुबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बसेको दलहरूको बैठकमा आजै शपथ पछि सानो आकारको मन्त्रिपरिषद् बनाउनेबारेमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जानकारी दिनुभयो । 

“बैठकमा सबै दलहरूले आआफ्नो धारणा राखे”, उहाँले भन्नुभयो, “अब प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ ।” नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सरकार सञ्चालनका लागि सानो मन्त्रिपरिषद् गठन गर्ने उहाँले जानकारी दिनुभयो । “कुन दलले कति वटा मन्त्रालय लिने भन्नेबारेमा अहिले निर्णय भएको छैन”, अध्यक्ष लामिछानेले भन्नुभयो । 

बैठकमा सत्ता गठबन्धनका शीर्ष नेता सहभागी हुनुहुन्थ्यो । नवनियुक्त प्रधानमन्त्री दाहालले आज ४ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ  । 

बैठकमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा(माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतका नेता सहभागी हुनुहुन्थ्यो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button