तपाईँ सुन्दै हुनुहुन्छः

आयातमा गरिएको कडाइका कारण राजस्व असुली प्रभावित

वीरगञ्ज । भारत तथा तेस्रो मुलुकबाट माल सामान आयातमा गरिएको कडाइका कारण राजस्व असुलीमा प्रत्यक्ष प्रभाव परेको छ ।

मुलुकको प्रमुख भन्सार नाकाको रुपमा स्थापित एकिकृत भन्सार जाँच चौकी आईसिपी वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/०८० को ५ महिनामा ९९ अर्ब ७२ करोड ७१ लाख ५४ हजार राजस्व असुलीको लक्ष्य तोकिएकोमा सो अवधिमा ६३ अर्ब ४५ करोड ७० लाख २५ हजार रुपैयाँ मात्र राजस्व असुली भएको छ ।

तुलनात्मक रुपमा हेर्दा लक्ष्य भन्दा ३६ अर्ब २७ करोड १ लाख २९ हजार रुपैयाँ कम राजस्व असुली भएको छ । लक्ष्य भन्दा झण्डै ३६ प्रतिशत कम राजस्व असुली हुँदा यसको प्रभाव मुलुकको अर्थतन्त्रमा पर्ने देखिएको छ ।

चालु आर्थिक वर्षको ५ महिनामा वीरगञ्ज नाकाबाट हुने मालवस्तुको आयात निर्यात घट्नुको साथै भन्सारमा लामो समयदेखि नयाँ सवारी साधनको जाँचपास हुन नसकेर थन्किनु तथा सवारी साधन नभित्रिएको कारण राजस्व असुली प्रभावित भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र प्रसाद चुँडालले बताउनुभयो ।

वीरगञ्ज भन्सार कार्यालयको यार्डमा अहिले झण्डै ८ अर्ब रुपैयाँ बराबरका गाडी थन्किएका छन् ।

त्यसैगरी सरकारले ड्राइ फुड, प्लाष्टिक जन्य खेलौना आदि मालवस्तुको आयातमा लगाएको प्रतिबन्धले पनि राजस्व असुली कम भएको प्रमुख भन्सार अधिकृत चुँडालले बताउनुभयो ।

यसैगरी वीरगञ्ज भन्सार कार्यालयले भन्सार राजस्वतर्फ २२ अर्ब २८ करोड ३ लाख ६७ हजार राजस्व असुली गरेको छ भने मूल्य अभिवृद्धि करतर्फ २८ अर्ब ९४ करोड ३८ लाख १० हजार राजस्व असुली भएको छ । त्यसैगरी अन्त शुल्कतर्फ ४ अर्ब ८५ करोड ३६ लाख २९ हजार असुली गरेको चुँडालले बताउनुभयो ।

त्यसैगरी वीरगञ्ज भन्सार कार्यालयले पूर्वाधार करतर्फ ४ अर्ब ७१ करोड ६ लाख ६८ हजार राजस्व उठाएको छ भने कृषि सुधार शुल्कतर्फ ५६ करोड ३० लाख ९६ हजार असुली गरेको छ ।

यसैगरी वीरगञ्ज भन्सार कार्यालयले सडक मर्मत तथा सुधार दस्तुरतर्फ १ अर्ब २५ करोड ८६ लाख १० हजार राजस्व असुली गरेको छ भने सडक निर्माण तथा सम्भार दस्तुरमा ६८ करोड ९० लाख ८६ हजार राजस्व असुल गरेको तथ्याङ्कमा उल्लेख छ ।

आईसिपी भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७८/७९ को ५ महिनामा ८८ अर्ब ६९ करोड ९२ लाख १ हजार रुपैयाँ राजस्व असुली गरी लक्ष्य भन्दा झण्डै ६ अर्ब ८ करोड भन्दा बढी राजस्व सङ्कलन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button