राहदानीबाट पाल्पामा २ करोड ५० लाख राजस्व सङ्कलन

पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले चालु आर्थिक वर्षको ५ महिनामा राहदानी वितरणबाट झण्डै २ करोड ५० लाख बढी राजस्व सङ्कलन गरेको छ । पाल्पामा वैदेशिक रोजगारीका लागि राहदानी बनाउनेको सङ्ख्या बढेसँगै राजस्व सङ्कलनमा पनि वृद्धि भएको हो ।
साउनदेखि मङ्सिर मसान्तसम्म चार हजार ५ सय ७९ राहदानी वितरण गर्दा दुई करोड ५४ लाख ५ हजार ५ सय राजस्व सङ्कलन भएको राहदानी फाँटले जनाएको छ । सो अवधिमा एक हजार दुई सय १७ महिला र तीन हजार चार सय ६२ पुरुषले राहदानी लिएका छन् ।
पाँच महिनाको अवधिमा चार हजार सात सय ५५ जनाको राहदानीका लागि सिफारिस भएको छ । यस्तै द्रुत सेवाका लागि दुई सय ७५ जना, नाबालक ४१ जना तथा हराएर पुनः बनाउन आवेदन दिने तीन सय ५२ जना रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
नेपाल सरकारले पछिल्लो समय विद्युतीय राहदानी वितरणका लागि अनलाइन प्रणालीबाट राहदानी वितरण गर्ने गरेको छ । पाल्पामा पनि अनलाइन माध्यमबाट हुँदै आएको विद्युतीय राहदानी वितरणलाई सहज बनाउन कार्यालयमै फारम भरेर सेवा उपलब्ध गराइएको छ ।
बाहिरबाट अनलाइन फारम भरेर राहदानी लिन सेवाग्राहीलाई सास्ती र चर्को शुल्क तिनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मै टोकन लिएर राहदानी वितरणको व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्